बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरियो

सदरलाइन संवाददाता ८ फाल्गुन २०७७, शनिबार २३:२६
 


नरैनापुर(बाँके) : बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो ।

नरैनापुरको लक्ष्मणपुर प्रारम्भिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकालाई पूर्णखोप सुनिश्चितता भएको घोषणा गरेका हुन । खोप लगाउन छुटेका १६ देखि २३ महिनाका १ सय ३५ जना बालबालिकालाई खोप लगाइएपछि नरैनापुर पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको हो ।

गाउँपालिकाले यसअघि फाल्गुन ५ गते सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको थियो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गाउँपालिकाकाका अध्यक्ष शाहको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले पूर्ण खोप सुनिश्चिततालाई अब दिगोपना दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । घोषणा कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार मौर्य, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह, वडा नम्बर ५ को स्वास्थ्य चौकीका प्रमुख प्रेम बुढा क्षेत्री, दिपेन्द्र प्रावि भगवानपुरका प्रधानाध्यापक दुर्गा श्रीवास्तव, युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीले भनाई राखेका थिए ।

यो घोषणा संगै बाँकेमा बैजनाथ गाउँपालिका मात्र पूर्णखोप सुनिश्चितता घोषणा हुन बाँकि रहेको छ । फाल्गुन मसान्तसम्म बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य छ । फोटो रेडियो सद्भाव अनलाईनबाट

Next Post

भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आइतवार आउँदै

८ फाल्गुन २०७७, शनिबार २३:२६
काठमाण्डौ : भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आइतवार नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख […]