२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नरैनापुरका विद्यालय तिहारपछि खुल्ने



नरैनापुर (बाँके) : कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने भएका छन् । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताउए । गाउँपालिका अध्यक्ष शाहले अनलाइन कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै लामो समयदेखि कोरोना नदेखिएकाले अब निश्चित मापदण्ड बनाएर विद्यालय सुचारु गर्ने निर्णयमा पुगेको बताए ।

“जेठको पहिलो सातादेखि कोरोनाले आक्रान्त बनेको नरैनापुर करिब एक महिना निकै संकटबाट गुज्रियो, त्यस यता भने नरैनापुरमा एकाध बाहेक कोरोना देखिएको छैन, लामो समय विद्यालय बन्द हुँदा सिकाई कार्य पूर्णरुपमा प्रभावित भएकाले अबदेखि विद्यालय चलाउने निर्णय गरेका हौं,“ अध्यक्ष शाहले भने ।

विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही संयोजक रहेको सात सदस्यीय समिति बनाइएको छ । शाहीले कसरी विद्यालय सञ्चालन गर्दा कोभिडको जोखिम कम हुन सक्छ, त्यसै अनुरुप अगाडि बढ्ने बताए । उनले एकैसाथ सबै विद्यालय सञ्चालन नगरी तहगत रुपमा सुचारु गर्दै त्यसको प्रभाव हेरेर थप रणनीति अख्तियार गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार
ताजा समाचार