नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । महेन्द्रनगर वडा नं. २ कञ्चनपुरकी कोरोना संक्रमित २९ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार विहान साढे ४ बजे मृत्यु भएको हो ।
सेती अस्पतालमा जुम्ल्याहा १ छोरा १ छोरी जन्माएकी ती महिलाको रक्तश्राव नरोकिएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोभिड–१९ को आशंकामा असोज १४ गते लिइएको नमुनाको रिपोर्ट सोही दिन पोजेटिभ आएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि ति महिलालाई मेडिकल कलेज कोहलपुरमा १५ गते भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित महिलाको कोरोनासम्बन्धी सबै उपचार गरेपनि आइतवार विहान उनको मृत्यु भएको श्रेष्ठले बताए ।
योसँगै बाहिरी जिल्लाका बाँकेमा आएर कोरोनाको उपचार गराउने मृतकको संख्या ९ पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।