बैजनाथ (बाँके) : बाल विवाह रोकथामको लागि बाँकेका बिभिन्न स्थानीय तहमा सक्रिय किशोरी क्लवहरुका पदाधिकारीहरुका लागि दुई दिने उद्घोषण सीप तालिम बाँकेको बैजनाथ, खजुरा र जानकी गाउपालिकामा सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा छुट्टाछुट्टै स्थानमा स्वास्थ्य सुरक्षा अपनाउदै आयोजना गरिएको सो तालिममा बैजनाथमा १२, खजुरमा १२ जना र जानकीमा १२ जना किशोरी सहभागी रहेका थिए । बालबिबाह रोकथाम परियोजना अन्तरगतको निर्माण गरिएको किशोरी क्लवमा आवद्ध उनीहरुलाई तालिममा समावेश गरिएको हो ।
बिभिन्न पालिकामा बालविबाह बिरुद्ध सामाजिक अभियन्ताको रुपमा सक्रिय रहेका उनीहरुलाई उद्घोषण तथा सञ्चार सीपबारे तालिम दिईएको स्याक नेपाल बाँकेका अध्यक्ष शिलवलाल पाण्डेले जानकारी दिए ।
बैजनाथ गाउपालिकाको एकता किशोरी क्लव, खजुरा गाउँपालिकाको लगनशील किशोरी क्लब र जानकी गाउँपालिकाको सिर्जनशील किशोरी क्लबका पदाधिकारी र सदस्य ३६ जनालाई छुट्टाछुट्टै रुपमा दुई दिने उद्घोषण तालिम दिएको हो । सो तालिमको नेपाल टेलिभिजनका रुद्र सुवेदी र अन्नपूर्ण पोष्ठका शंकर प्रसाद खनालले सहजिकरण गरेका थिय ।
तालिममा सहभागि रहेकी एकता किशोरी क्लव बैजनाथ की अध्यक्ष समेत रहेकी अनु रावतले तालिमले आफुहरुको व्यत्तित्व विकासमा मद्दत पुराएको बताईन । कार्यक्रममा स्याक बाँकेका सहजकर्ताहरु बबिता सिंह, लसिना वली, पुष्पा सुनार र अर्मिला रोकायले तालिमका सहभागिहरुलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह गरेका थिए ।
जिल्लाका ८ वटै स्थानीय तहसँग सहकार्यमा स्याकले बाल विवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा एक एक वटा किशोरी क्लब र जिल्लामा जिल्ला स्तरीय किशोरी क्लब सञ्जाल पनि रहेको छ ।