नेपालगञ्ज : कोरोना भाईरसको संक्रमणबाट बाँकेमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ का ३७ वर्षिय पुरुषको अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कार अघि धार्मिक बिधि अनुसार ‘जनाजा’को नमाज पढिए लगत्तै नेपाली सेनाले अन्तिम सलामी दिएको थियो ।
उनको शव कोभिड–१९ को शव व्यस्थापन कार्यविधि अनुसार स्वास्थ्य सुरक्षा अपनाएर गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।
मुस्लिम समुदायका ती पुरुषको सम्पूर्ण सुरक्षा विधि अपनाएर नेपाली सेनाको भैरवप्रसाद गणको विषेश टोलीले नेपालगञ्जको कब्रस्तानमा अन्तिम संस्कार गरेको हो । उनको मेडिकल कलेज कोहलपुरमा उपचार हुँदै गरेको अवस्थामा मंगलवार राती १ बजे मृत्यु भएको थियो ।
छातीमा समस्या देखिएपछि उनलाई भदौ ८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना परीक्षण गरिएपछि संक्रमण पुष्टि भएको थियो । दुबै फोक्सोमा निमोनिया देखिएका संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जका एकएक जनाको मृत्यु भइसकेको छ । शव व्यवस्थापन गर्दा प्रदेश नं. ५ का सांसद मो. याकुव अन्सारी, मेराज हल्वाई, शक्तिकुमार बंशकार (अब्दुल कबी) लगायतको उपस्थिति रहेको थियो ।