सदरलाइनडटकम,
नेपालगञ्ज : साउन १८ गतेदेखि बाँकेमा जारी गरिएको निषेधाज्ञाको अवधि पुनः बढाईएको छ । समुदायस्तरमै कोरोना संक्रमणको दर बढेको भन्दै लागु गरिएको निषेधाज्ञालाई शुक्रवार राती १२ बजेसम्मका लागि बढार्ईएको हो ।
कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र ९डिसिसीएमसी०को मंगलवार बसेको बैठकले आगामी शुक्रवारसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । यसअघि शील गरिएको नेपालगञ्ज भने खुल्ने भएको छ । यद्यपी निषेधाज्ञा भने कायमै रहने बताईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले आगामी शुक्रबार राती १२ बजेसम्मको लागि निषेधाज्ञालाई थप गर्ने निर्णय भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले निषेधज्ञालाई कडा पार्दै जाँचको दायरा बढाउने निर्णय भएको बताउदै सबैको सहयोगले मात्र संक्रमणबाट जोगिने बताए । उनले पछिल्लो समय संक्रमण पुष्टि भएकाहरुमा लक्षण समेत देखापरेको कारण उनीहरुको व्यवस्थापनको लागि केही असहज हुने अवस्था आउन सक्ने भएकोले भेरी अस्पताल परिसर मै कोरोना अस्पताल निर्माण गर्ने तयारी भएको जानकारी दिए ।
बाँकेमा १५ दिन अघिसम्म १२ जना संक्रमित रहेकोमा बढेर हालसम्म २ सय ४९ जना संक्रमित पुगेका छन् । एक चिकित्सकसहित मंगलवार बाँकेमा २६ जना कोरोनाका संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका एक चिकित्सकसहित २६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म पाँच जना चिकित्सक संक्रमित भई आईशोलेशनमा रहेका छन् ।
नेपालगञ्ज, कोहलपुर र आसपासका गाउँपालिकासहितका २६ जनामा कोरोना संक्रमण देखएको छ । भेरी अस्पतालले मंगलवार दिउसो १२ बजे सार्वजनिक गरेको विवरण अनुसार बाँकेका २६ जनासहित विभिन्न जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेमा हालसम्म ६५७ जना संक्रमित रहेको ती मध्ये ४ सय ५ जना संक्रमण मुक्त भएर घर फर्केका छन । हाल २४९ जना संक्रमित विभिन्न आईशोलेशनमा रहेका छन् ।