सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गले कोबिड–१९ को महामारीसंगै बाँकेमा प्राकृतिक विपत्ती बाढीको प्रकोपबाट जोगिनको लागि आवश्यक तयारी पुरा भएको बताएका छन् ।
उनले कोबिड–१९ को महामारीबाट जोगिन स्थानीय प्रशासनले स्थानीय सरकार मार्फत सामुदायिक विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाईन र आईशोलेशन सेन्टर निर्माण गरेको अवस्थामा अहिले कोबिड–१९ संक्रमितको संख्या पनि घट्दो रहेको र क्वारेन्टाईनमा पनि मानिसको चाप घट्दो क्रममा रहेको कारण आईशोलेशन र क्वारेन्टाईन बनाईएका विद्यालय खाली भएकोले बाढी प्रभावितलाई उद्धार गरेर राख्नको लागि सामुदायिक विद्यालय र भवन प्रयोगमा ल्याउन सकिने बताए ।
बाँकेमा बाढीले डुवान र कटानको जोखि अधिक रहेको कारण हरेक वर्ष स्थानीय प्रशासनले यस्तो विपत्तिबाट जोगिन छुट्टै तयारी गर्नुपर्ने अवस्थामा कोबिड–१९ को महामारीका कारण तयारी ओझेलमा परेजस्तो देखिएपनि दुबै तयारी संगसंगै गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
बाँकेमा बाढी पूर्व सूचनाको संयन्त्रले तीब्र गतिमा काम गर्ने भएकोले पनि बढी जन्य प्रकोपबाट भौतिक क्षति केही मात्रामा हुनसक्ने भए पनि मानविय क्षति हुन नदिन प्रयत्न गरिने गरी तयारी गरिएको प्रजिअ कुरुम्बाङ्ग बताउछन् ।
बाढीको बेला सडक सञ्जालबाट छुट्टिने राप्तीसोनारीको ३,४,५,६ र ७ नंम्बर वडा र नरैनापुरमा आपतकालिन राहत पुराउन र उद्दारको लागि आवश्यक पर्ने हेलिप्याड निर्माण समेत गरिसकेको प्रजिअ कुरुम्बाङ्गले जानकारी दिए ।
उनले सबै कलस्टरलाई आ–आफ्नो स्तरबाट पूर्ण तयारी अवस्थामा बस्नको लागि आबश्यक निर्देशन समेत दिई सकेको र सबै युनिट तयार रहेको बताए । उनले भने–‘ हाम्रो तयारीको अवस्था कस्तो छ भनेर हालै पूर्व अभ्यास समेत सम्पन्न गरेका छौ ।’