सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको कहरका बीचमा निजि विद्यालयका शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आन्दोलन चर्काउने भएका छन् । संस्थागत विद्यालय शिक्षक यूनियनको नेतृत्वमा शुक्रबार (भोली) देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण निजि विद्यालयमा कार्यरत शिक्षकले तलब नपाउनुको साथै रोजगारी पनि सुनिश्चित नभएको कारण उनीहरु आन्दोलनमा जान बाध्य भएको बताएका छन् ।
कोरोना संक्रमणको विषम परिस्थितीमा निजि विद्यालयका शिक्षकहरुलाई तलववीहिन बनाउन खोजीएको भन्दै पेशागत सुरक्षाको सुनिश्चितताको माग गर्दै दवाव दिन लागिएको हो ।
संस्थागत विद्यालय शिक्षक यूनियन बाँकले पत्रकार सम्मेलन गरेर दवावमुलक कार्यक्रमको स्वरुप बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शुक्रबार दिउसो १.३० मा नेपालगञ्ज पुष्ललाल चौकबाट ¥याली निस्कीएर विपी चौकमा समापन गरिने भएको छ ।
संस्थागत विद्यालय शिक्षक यूनियन बाँकेका अध्यक्ष गमबहादुर डागरले लामो समयको लकडाउनका कारण आफुहरु तलब बिहीन अवस्थामा पुगेको बताउदै यस्तो विषम परिस्थितिमा निजि विद्यालयले शिक्षकको समस्या बारे चासो नराखेको अवस्थामा सरकारले उनीहरुको रोजगारी र नियमित सुनिश्चतताको माग गरे ।
कुनै पनि वहानामा शिक्षकहरुलाई निस्काशन गर्न नपाईने , शिक्षकहरुलाई सामाजिक कोषमा समावशे गर्नुपर्ने, शिक्षक कर्मचारीको दुरुस्त लेखाजोखा राख्नु पर्ने लगायतका माग अघि सारिएको छ ।
पत्रकार सम्मेलनमा यूनियका केन्द्रीय उपाध्यक्ष उमेश सापकोटा, केन्द्रीय सदस्य वामदेव ओली, वरिष्ठ जिल्ला उपाध्यक्ष मुना हमाल, सचिव महेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।