सदरलाइनडटकम,
नेपालगञ्ज : गैरसरकारी संस्था महासंघ नेपाल बाँके र गो–गो फाउण्डेसनको आयोजनामा व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) बारे नेपालगन्जमा नागरिक सम्बाद कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा सिएसआर कार्यन्वयनको अवस्था, कानुनी प्रावधान र चुनौतीका विषयमा संबाद गरिएको हो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले व्यवसायिक सामाजिक उत्तरदायित्व लागि छुट्याईएको रकम यस क्षेत्र मै खर्च गर्न आग्रह गरे । जुन क्षेत्रको लागि पैसा छुट्याईएको हो, त्यहि क्षेत्रमा खर्च गर्नुपर्ने कानुनी प्रावधान बनाउन लागेको समेत उनले जानकारी दिए ।
नेपालगञ्जमा उठेको व्यावसायिक कुल नाफाको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्न बाध्य हुने परिस्थितीको सिर्जना गर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै सुचना तथा मानव–अधिकार केन्द्रका विश्वजित तिवारीले व्यावसायिक सामाजिक जवाफदेहिता अन्तरगतको वजेटलाई विभिन्न माध्यमबाट कनिका छरे जस्तो गर्नु भन्दा पनि एकद्वार प्रणालीबाट खर्च गर्न सके अझवढी पारदर्शिता र जिम्मेवारी वहन हुने कुरा बताए ।
कार्यक्रम व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि, सरकारी अधिकारी र नागरिक संस्थाका प्रतिनिधिका विचमा छलफल गरिएको थियो ।
सो कार्यक्रमले नीजि क्षेत्रबाट प्रदान गरिने सामाजिक उत्तरदायित्व सम्वन्धी कोषको नीजि क्षेत्र र नागरिक संस्थाका प्रतिनिधिका वीचमा समान वुझाईको विकास हुने र सहकार्यलाई विस्तार गरी व्यावसायिक सामाजिक जवाफदेहिता प्रवर्दन र लक्षित वर्गउन्मुख बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकले लिएको छ ।
कार्यक्रममा व्यावशायिक तथा सामाजिक प्रतिष्ठानहरुको सामाजिक उत्तरदायित्व सम्वन्धी कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, तारा रोकाया, नागरिक समाजका प्रतिनिधि, व्यापारी लगायतले बोलेका थिए ।