सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड दिएका छन् । उनले स्थानीय तह सञ्चालन ऐन २०७४ मा टेकेर सेवा प्रवाह गरिरहेको बताए ।
खजुरा गाउँपालिकाको सहयोगमा सोमवार प्याक्ट र बासले आयोजना गरेको स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत अध्ययनका परिणाम र सिफारिस सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले प्रभावकारी सेवाका लागि सबै विषयगत शाखालाई आफ्नो जिम्मेवारीका काम गर्न निर्देशन दिएको बताए ।
शिक्षा, स्वास्थ्य, कृषिलगायतका सबै क्षेत्रमा आवश्यकताको आधारमा योजना छनौट र बजेट विनियोजन हुने गरेको बताउँदै अध्यक्ष कक्षपतिले अनुगमन, नियमन र नियन्त्रण जरुरी रहेको औल्याए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सबै शाखाहरु उत्तिकै जवाफदेहिता र पारदर्शी ढंगले सेवा प्रवाहमा लाग्नु पर्ने बताए ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी केसीले स्वास्थ्य क्षेत्रमा सरोकारवालाको नियमित बैठक राखिने र आवश्यकता पहिचान गरेर सोही अनुरुप सेवा प्रदान गर्दै आएको बताइन ।
उनले ८ वडा रहेको खजुरामा सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेको बताइन । कार्यक्रममा खजुरामा स्वास्थ्य क्षेत्रमा गरिनु पर्ने सुधार, अध्ययनका क्रममा पाइएको तथ्य तथ्यांकसहितको प्रतिवेदन प्याक्टका प्राविधिक सल्लाहकार दुर्लबकुमार बोगटीले खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकलाई बुझाए ।
स्वास्थ्य क्षेत्रमा सामाजिक परिणक्षणलाई निरन्तरता दिनु पर्ने, जवाफदेहिताका औजारको कार्यान्वयन गरिनु पर्ने, औषधी खरिद प्रक्रिया सहज बनाइनु पर्ने लगायतका कुरा प्रतिवेदनले बोलेको बासका निवर्तमान अध्यक्ष तथा प्याक्टका स्थानीय सहजकर्ता मन भण्डारीले जानकारी दिए ।