सदरलाइनडटकम,
जुम्ला : जुम्लामा निर्माणाधिन घर भत्किदा एक जनाको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किँदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षीय रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी ४९ बर्षीया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार उद्धार गरेर अस्पताल पुर्याइसकेपछि उपचारका क्रममा पतिको मृत्यु भएको हो । निर्माणाधिन अवस्थामा रहेको घर भत्केको खबर पाउने बित्तिकै प्रहरी निरीक्षक नविन ओली नेतृत्वको टोली उद्दारका लागि घटनास्थल पुगेको थियो ।
मृतक गिरीकी पत्नी हरिदेवीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ । धिताचौरमा मृतक गिरी स्याउ बगैंचा रेखदेखका लागि घर बनाउँदै थिए ।


