सदरलाइनडटकम,
दाङ्ग : प्रदेश ५ अनुसंधान समुह नेपालगञ्जबाट खटिएर गएको प्रहरीको टोलीले दाङमा ठूलो परिमाणमा घरेलु हतियारसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको सो समूहले नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको राजपुर गाउपालिका वडा नं. ७ भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो ।
प्रहरीले सो ठाँउमा आरन सञ्चालन गर्दै आएका ५९ वर्षिय जीतबहादुर बुढा र ३८ वर्षिय रुद्र मणि घर्तीका साथबाट भरुवा बन्दुक ५, बारबोर राईफल १, रिभल्वर १, ठूलो हतियारको नाल २९ एयरगन ३, कटुवा पेस्तोल १, सानो हतियारको नाल(मजल) १२, आरन सेट १, रेती ३, हथौडा सानो ठूलो २, छिना २, सनासो २, हेक्जा ब्लेड १, पेचकस १, उदाउने ढुंगा १ र पित्तल काट्ने कैची बरामद गरेको जनाईएको छ ।
भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतियार बनाउने कारखानामा छापा मारेको ती प्रहरी अधिकारीले जानकारी दिए ।
राजपुर गाउँपालिका वडा नं. ७ मा भौवा नाका अवस्थित छ । यही नाकाबाट हातहतियार नेपालमा भित्रने गरेको, चोरी शिकारी बढेको तथा गुन्डागर्दी गर्नेदेखि हातहतियार यही नाकाबाट ओसार प्रसार गर्दै आएको प्रहरीको दाबी छ ।
बरामद भएका हतियार र प्रहरीको अनुसंधान समुहले नियन्त्रणमा लिएका बुढा र घर्तीलाई थप अनुसंधान गर्नको लागि ईलाका प्रहरी कार्यालय गढवा दाङ्गमा बुझाईएको छ ।