सिंचाई सुविधाका लागि पहल गर्छु : मन्त्री पौडेल

  
  प्रकाशित मितिः सोमवार, पुस २३, २०७५       | 27 Views   ||

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँकेको नरैनापुर गाउँपालिकामा सिंचाई सुविधा पुर्याउनका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् ।
सोमवार नरैनापुर पुग्नुभएकी मन्त्री पौडेलले कृषि उत्पादनको प्रचुर सम्भावना रहेको नरैनापुरमा डिप बोरिङ्ग जडानका लागि आफूले प्रदेश सरकारसंग योजना नै बनाएर माग गर्ने बताइयन् । उनले नरैनापुरको कृषि उत्पादन बढाउन डिप बोरिङ्ग जडानका लागि आफू प्रतिबद्ध भएर लाग्ने जिकिर गरिन् ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकामा सय वटा डिप बोरिङ्ग जडान गर्नुपर्ने माग गरेका थिए । मन्त्री पौडेलले गाउँपालिकालाई पनि आफ्नो तर्फबाट प्रदेश सरकारसंग लिखित माग गर्न सुझाब दिइन् । किसानका समस्याका बारेमा किसानसंग छलफल समेत गनुभएकी मन्त्री पौडेलले गाउँपालिकामा रहेका दुई वटा गौशालाको अवलोकन समेत गरेकी थिइन् ।
वडा नम्बर ३ कालाफाँटा र वडा नम्बर ५ मटेहियामा रहेका दुई वटा गौशालाको मन्त्री पौडेलले अवलोकन गरेकी हुन् । अवलोकन गर्दै उनले गौशालाको संरचना निर्माणदेखि अन्य पूर्वाधार विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए ।
त्यस क्रममा स्थानीयबासी एवम् पूर्वमन्त्री दिनेशचन्द्र यादव, पूर्व सांसद् देवराज भार, प्रदेश कमिटि सदस्य पूजन विश्वकर्मा, नेकपाका नरैनापुर इञ्चार्ज अब्दुल हुसेन खाँ, अनेमसंघकी केन्द्रिय सदस्य विम्मी पन्थी, नेकपाका नेता सोहनलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः सोमवार, पुस २३, २०७५     7:02:12 PM  |