सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पुरानो वर्ष २०१८ को विदाई र नयाँ अँग्रेजी वर्ष २०१९ को स्वागत गर्दै मनाईंदै छ । ग्रेगोरियन पात्रोअनुसार आज अर्थात् मंगलवारदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान–प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा. शास्त्रदत्त पन्तले जानकारी दिए ।
सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको वि.सं जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी छ । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेण्डको एक वर्ष हुन्छ । तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन ।
त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिप इयर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा. पन्तले बताउनुभयो । नयाँ वर्ष २०१९ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाण्डौको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा आज विशेष रुपमा यो पर्व मनाइन्छ । नयाँ सालका अवसरमा सोमवार राती नेपालगञ्जका विभिन्न होटल र रेष्ट्राँहरुमा भीड लागेको थियो ।
सदरलाइन पब्लिेकेशनद्वारा शुभकामना व्यक्त
यसैबीच नयाँ वर्षका अवसरमा सदरलाइन पव्लिेकेशनले शुभकामना दिएको छ । नयाँ वर्ष २०१९ ले आपसी भाईचारा, नयाँ उमङ र नयाँ उत्साह प्रदान गर्ने भन्दै सबैमा शुभकामना व्यक्त गरेको छ । सदरलाइन पव्लिेकेशनका चेयरमैन रुद्र सुवेदीले नयाँ वर्षले सबैको उन्नती र समग्र विकासका साथै आशा र उमङ ल्याएको भन्दै शुभकामना दिएका छन् ।