सदरलाइनडटकम,
काठमाण्डौ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हननसम्बन्धी व्यवस्था भए संशोधन गर्न सरकार तयार रहेको दाबी गरेका छन् । अनलाइन पत्रकार संघले शुक्रवार काठमाण्डौमा गरेको ‘मुलुकी अपराध संहिता (ऐन)मा भएको प्रावधानले प्रेस स्वतन्त्रतामा पार्ने असरबारे’ अन्तरक्रियामा उनले प्रेस स्वतन्त्रताप्रति सरकार गम्भीर रहेको बताए ।
कसैको व्यक्तिगत अधिकार कसैले हस्तक्षेप नगर्नका लागि नयाँ मुलुकी ऐन ल्याइएको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि कुनै अंकुश नलगाउने बताए । पत्रकारलाई हतोत्साही नभई काम गर्न आग्रह गर्दै मन्त्री ढकालले नेपाल पत्रकार महासंघले आफूलाई बुझाएको बिज्ञप्तिअनुसार संशोधन गर्नुपर्ने बुँदाको परिमार्जनका लागि छलफल गर्ने जानकारी दिए ।
अन्तरक्रियामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ऐनमा भएका प्रेस स्वतन्त्रताविरोधी व्यवस्था हटाएर पत्रकारले स्वतन्त्रतापूर्वक काम गर्न पाउनु पर्ने धारणा राखे । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले अहिले फौजदारी संहितामा भएका व्यवस्थालाई देवानी संहितामा राख्नुपर्ने जिकिर गरे ।