नेपालगञ्ज : करिब देशभरि धान रोपाईं कार्यक्रम भइरहँदा बाँकेमा भने अधिकांश खेत बाँझै रहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ प्रतिशत धान रोपाईं भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खानले अझ पनि केही किसानले धानको बिउँ राख्न बाँकी रहेको बताए । कृषि ज्ञान केन्द्रका प्रमुख खानले भने, ‘सिँचाइको सुविधा भएका स्थानमा बढी धान रोपाईं भएको छ, अन्य स्थानमा बर्सातको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’
कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइको सुविधा भएका डुडुवा, बैजनाथ र राप्ती–सोनारी गाउँपालिकामा बढी धान खेती भएको छ । अहिले धान रोपाईंका लागि सबैभन्दा उपयुक्त समय भएको भन्दै कृषि प्राविधिकले अब पनि बर्षातमा ढिलाइ भएमा किसानले राखेको बिउँ छिपिन्ने बताएका छन् ।
बर्षातको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बीउ राखेका किसानहरू यतिबेला वर्षा नभएपछि बिउँ बुढो हुने चिन्तामा परेका छन् । समयमा बर्षात नहुँदा बाँकेको नरैनापुरमा गत वर्ष पनि सुख्खा भएको थियो । बाँकेमा जिल्लाभरि ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भएपनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्तता लाभ लिन सकेका छैनन् ।












प्रतिक्रिया दिनुहोस्