२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

चितुवाको छालासहित ४ जना पक्राउ



काठमाण्डौ : चितुवाको छालासहित काठमाडौंबाट ४ जना प्रक्राउ परेका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले गत शुक्रबार काठमाडौं महानगरपालिका–३ स्थित पूर्वपश्चिम गेष्ट हाउसबाट चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षका विष्णु सुनार, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–९ घर भएका भक्तपुर चाँगुनारायण बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका–५ का चाँगुनारायण बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानीका ललितपुर पाटन बस्ने ३० वर्षका विकास पुर्कुटी रहेका छन् ।

उनीहरूको साथबाट पुच्छरसहित सवा ४ फिट लम्बाइ, २ फिट चौडाइ र ६ फिट ९ इन्च फिट लम्बाइ र ३ फिट चौडाइ भएको दुई थान चितुवाको छाला र छाला बिनाको चितुवाको टाउकोजस्तो देखिने खप्पर पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी टोलीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गल्फुटार र काठमाडौं महानगरपालिका–३ स्थित सिमानामा रहेको पूर्व पश्चिम गेष्ट हाउसमा जाँच गर्दा झोलाभित्र बोराले बेरेर राखेको अवस्थामा छाला र रूमालमा बेरेको अवस्थामा चितुवाको जस्तो देखिने खप्पर फेला पारेको थियो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई बरामद गरिएको सामानसहित अनुसन्धान र कारबाहीका लागि आइतबार डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ पठाइएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख ४ गते आइतबार
ताजा समाचार