२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

चितुवाको छालासहित सुर्खेतमा तीन पक्राउ



नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजे वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरुलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको वीरेन्द्रनगर–१२ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षीय अम्मरबहादुर थापा रहेका छन् ।

उनीहरुलाई शंकास्पद अवस्थामा बसेको फेला पारेको र शरीर तथा होटलको कोठाको खानतलासी गर्दा कोठाको टेबलमा रहेको जेब्रा झोला भित्र टाउकोदेखि पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीको भनाई रहेको छ ।

अवैध चितुवाको छाला जुम्लाको सिँजा गाउँपालिकाबाट दलबहादुर बुढाले बुधबार बिहान मात्रै वीरेन्द्रनगरमा ल्याएर आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख १४ गते बुधबार
ताजा समाचार