२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

सशस्त्र प्रहरीको सीमा क्षेत्रमा सक्रियता तीब्र चोरी निकाशीमा कडाई




नेपालगञ्ज  : भन्सार छलेर नेपाल भित्रिने सामानमा सशस्त्र प्रहरीले कडाई गर्दै आएको छ । सीमा क्षेत्रबाट हुने तस्करी रोक्न चोरी निकाशीमा कडाई गरिएको जनाईएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज–१५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ मूल्य बराबरको माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गर्नुको साथै करिव ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरीले नेपालगञ्ज–१६ जयसपुरहुँदै भारतबाट लुकाई छिपाई ल्याउदै गरिएका ६० हजार रुपैयाँ बराबरको व्याट्री र ७० हजार रुपैयाँ बराबरको एउटा अटो रिक्सा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले जानकी गाउँपालिका–१ साईगाउबाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले भारतबाट ल्याइएका ५४ हजार रुपैयाँ बराबरको अवैध किराना सामाग्री बरामद गरि नेपालगञ्ज भन्सार बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधबार
ताजा समाचार