२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

३५ किलो चित्तलको मासुसहित बर्दियामा चार जना पक्राउ



बर्दिया : ३५ किलो चित्तलको मासुसहित बर्दिया निकुञ्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई समातेको हो ।

उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर–१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ । यद्यपि उनीहरूको मान भने निकुञ्जले सार्वजनिक गरेको छैन ।

उनीहरूका साथमा अरू पनि तस्करहरू रहेका हुन सक्ने आशंकासहित निकुञ्जले खोजी गरिरहेको जनाएको छ ।

यसअघि गएको पुष ६ गते पनि बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुई जनालाई पक्राउ गरेका थिए । उनीहरूको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायत सामग्री बरामद गरिएको थियो । त्यसबेला सुरक्षाकर्मी र तस्करबीच गोली हानाहानसमेत भएको थियो ।

लकडाउनको समयमा गाउँमा स्थानीयको चहलपहल बढे पनि निकुञ्जमा तस्करी पनि बढेको जनाइएको छ । रोजगारी गुमाएर गाउँ फर्किएका स्थानीय जंगल प्रवेश गर्ने र तस्करीमा संलग्न हुने भन्दै बर्दिया निकुञ्जले गस्ती पनि बढाएको छ ।

लकडाउन पछि वन्यजन्तुको चलहपहल सामुदायिक वनमा समेत बढेकोले निकुञ्ज प्रशासनले स्थानीयलाई जंगल प्रवेश नगर्न पटक पटक आग्रहसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार
ताजा समाचार