Sadarline
२०८३ असोज २६ , सोमबार

बन्यजन्तुको छालासहित आठ जना पक्राउ



दैलेख : प्रहरीले दैलेखमा बाघ र रेडपाण्डाको छालासहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई दैलेखको नारायण नगरपालिका–३ खुर्सानीबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नौमुले गाउँपालिका–२ बाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार राति पक्राउ गरेको दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।

दैलेखको नौमुले गाउँपालिका–२ बाट दैलेख बजार आउँदै गरेको ०२००१ज००३६ नम्बरको डबल क्याप बोलेरो जिपलाई चाज गर्दा वन्यजन्तुको छाला बरामद गरी पक्राउ परेका आठ जनालाई डिभिजन वन कार्यालय दैलेखमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–३ नाउँले बस्ने ५१ वर्षीय धनबहादुर मगर, सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय कबिराम अधिकारी, नौमुले–४ बस्ने १९ वर्षीय गाडी चालक रोशन बस्नेत, नौमुले–२ बस्ने ३३ वर्षीय धनबहादुर पुरी रहेका छन् ।

यस्तै, नौमुले गाउँपालिका–३ बस्ने २२ वर्षीया दलबहादुर खत्री, नौमुले–२ बस्ने ४५ वर्षीया हस्तबहादुर थापा, भगवतीमाई गाउँपालिका–१ बस्ने २७ वर्षीय गोबिन्द थापा र सोही गाउँपालिका २ बस्ने ५६ वर्षीय धनबहादुर रावत रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३ फिट ३ इन्च लम्बाई ११ ईन्च चौडाई भएको रातो कालो रङको रेडपाण्डाको जस्तो देखिने जनावरको छाला, ५ फिट ९ इन्च लम्बाई, १ फिट ५ ईन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ १ फिट ६ इन्च गोलाई भएको छाला र ३ फिट १ इन्च गोलाई भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला बरामद गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत १४ गते शनिबार
ताजा समाचार