सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सडक दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा आइतवार उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो ।
चिसापानी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केशीले बताए । शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् ।
उनी खतरामुक्त रहेको बताइएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्लामा विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गइरहेका थिए ।


