सदरलाइनडटकम,
कञ्चनपुर : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् । प्रेस संगठन कञ्चनपुरले आइतवार भीमदत्तनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे ।
जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिए । भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आआफ्नो विशेषतालाई पर्यटकसामु पुर्याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । भारतसँग देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए ।
