नेपालगन्ज उप–महानगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई

७ जेष्ठ २०७४, आईतवार ११:०२
 

सदरलाइनडटकम,   
७ जेठ,  नेपालगन्ज : बजेट अभावसंगै सेवाग्राहीले समयमा बैंकमा खाता नखोलेको कारण नेपालगन्ज उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई हुने भएको छ ।
चालू आर्थिक वर्षको असोज महिनामा पहिलो किस्ता वितरण गरेको उप–महानगरपालिकाले दोस्रो किस्ता वापतको सामाजिक सुरक्षा भत्ता सेवाग्राहिले समयमा बंंैकमा खाता नखोल्दा र सामाजिक सुरक्षा भत्ताको लागि आवश्यक पर्ने रकम नै थोरै आएको कारणले अहिलेसम्म वितरण हुन नसकेको हो ।
संघीय संरचना अन्तरगत वडाहरु मर्ज गर्नु परेको र लक्षित समूदायले पनि समयमा बैंक खाता नखोल्दा रकम निकासामा ढिलाई भएको नेपालगन्ज उप–महानगरपालिकाका वडा सचिव खेमराज सुवेदीले जानकारी दिए । उनले भने–‘सामाजिक सुरक्षा भत्ताको पारदर्शिताको लागि बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति अनुसार समयमा सेवाग्राहीले खाता नखोलेको कारण र दोस्रो र तेस्रो चौमासिक (आठ) महिनाको लागि आवश्यक पर्ने रकमममा झण्डै २ करोड नै कमी भएपछि वितरणमा ढिलाई भएको हो ।’


 जेष्ठ नागरिकलाई मासिक २ हजार, जेष्ठ दलितलाई १ हजार ७०वर्ष भन्दा माथिलाई २ हजार, एकल महिलालाई १ हजार, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई २ हजार, अति अशक्तलाई ६ सय र बालवालिकालाई ४ सय रुपैयाँका दरले मासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ । उनले सेवाग्राहीले यतीबेला वडा अनुसार तोकीएका बैंकहरुमा खाता खोल्ने काम तीब्र्र रुपले अघि सरेको जानकारी दिए ।
उप–महानगरपालिकाको २३ वटा वडामा करिव ९ हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । पहिलो किस्ता कात्तिक सम्मको ४ करोड २२ लाख ६५ हजार ८ सय रुपैयाँ वितरण गरेको उप–महानगरपालिकाले दास्रो किस्ता वितरण नगर्दा लक्षित समुदाय भने मर्कामा परेका छन ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र दुरुपयोग नहोस् भनेर सरकारले बैंकिङ प्रर्णाली सुरु गरे पनि त्यो व्यवहारिक हुन नसकेको सचिव सुवेदीले बताए । उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि नेपालगन्जका नौं वटा बैंकहरुसँग समन्वय गरेको जानकारी दिदै भने–‘ अव दोस्रो र तेस्रो किस्ता एकै पटक दिने गरी काम अघि बढाईएको छ । बैंकमा खाता खोल्ने काम र अपुग रकम माग्ने काम तीब्र रुपले नै अगाडि बढाईएको छ ।’
उनले दिएको जानकारी अनुसार साविकका वडा नम्वर १३, १८, २२ ले सिविल बैंक, वडा नम्बर १ र ५ ले कृषि विकास वैंक, ३ र १९ नम्बर वडाकाले लक्ष्मी वैंक, ४, १२ र १७ ले नेपाल वैंक लिमिटेड, २४ ले सेन्चुरी, १० ले राष्ट्रिय वाणिज्य वैंक, २०, २१ ले महालक्ष्मी, ६, ७, २७ र २८ ले वेस्टन डेप्लोमेन्ट वैंक र २, ८, ९, ११, १४, १५, १६, २३, २५ र २६ नम्वर वडाका सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले सांग्रीला विकास बैंकबाट रकम प्राप्त गर्ने छन । दोस्रो किस्ता वाफतको रकम आगामी जेठको पहिलो हप्तापछि वितरण सुरु गरिने सचिव सुवेदीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘रिफलेक्ट’ले फेरिएको फरीदाको दिनाचार्य

७ जेष्ठ २०७४, आईतवार ११:०२
स्मृती देवकोटा/सदरलाइन , ७ जेठ, नेपालगन्ज  : बाँके जानकी गाउपालिका–४ खजुरा नहरटोलकी ३० वर्षिया फरीदा बेगमलाई घरको सानोतिनो खर्च टार्नको लागि श्रीमानको मुख हेर्न पर्दैन । कुनै बेला घरमा नुन तेल सकिदा श्रीमान कतिबेला आउने हुन भनेर कुरेर बस्ने फरीदा अहिले भने आफ्नो खर्च आफै जोहो गर्न सक्ने भएकी छन् […]