२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

राप्ती नदीमा पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका स्थानीय



नेपालगञ्ज : बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका आधा दर्जन भन्दा बढी गाउँका नागरिक अझै पनि डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

डुडुवा गाउँपालिकाको होलिया, बेतहनी पिप्रहवा, खडैचा र राप्तीसोनारीको झगडिया, गेदवा, नरैनापुर गाउाँलिकाको गङ्गापुर। मटेहियालगायतका गाउँलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा त्यस क्षेत्रका हजारौ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

राप्ती सोनारी वडानं ७ का स्थानीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीमा पुलनहुँदा आफुहरुले निक्कै जोखिम तथा सास्ती व्यहोर्नु परेको गुनासो गरे । उनले भने–‘हाम्रो जमिन नदी पारी छ खेती गर्न जानलाई पुल तर्नजनामात्रै ८ किलोमिटर घुमेर जानुपर्छ यो व्यवहारिक छैन, जोखिम मोलेरै भय पनि डुङ्गा चढ्नु हाम्रो बाध्यता हो ।’

राप्ती पारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुङ्गा चढेर नदी वारपार गर्नु पर्ने आफुहरुको बाध्यता नै बनेको अर्का स्थानीय खुशीराम दुवेको भनाई छ ।

उनले आफ्नो बाजेले भनेको कुरा सम्झदै भने–‘ धेरै पहिला यही घाटमा डुंङ्गा तर्दा डुंङ्गा पल्टिएर धेरै जनाको ज्यान गएको थियो । अहिले पनि जोखिम मोलेरै खेति र मेलापातको लागि डुङ्गा चढेरै वारपार गर्छौ, पुल बनाउने कुरा सुनेको छु । खोई बन्ने पो हो की होईन ।’

राप्तीसोनारी गाउँपालिका–७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका स्थानीयका लागि आवतजावत गर्ने साधन नै डुङ्गा भएको नस्रुद्दिन शेषको भनाई छ । उनले पक्की पुलबाट आउजाउ गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु स्थानीयका लागि बाध्यता बनेको दोहराए ।

राप्तीसोनारी वडानं ७ का वडा अध्यक्ष रामलखन थारुले राप्तीनदीमा पुल नहुँदा नदी तटीय क्षेत्रका नागरिकहरु खेतीपाती गर्न राप्ती नदी वारि र पारि जाउआउ गर्नुपर्ने भएकाले डुङ्गाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले नदीमा पुल बनाउन पर्ने धारण राख्दै भने–‘यहाँ पुलको आवश्यक अति नै छ । पुल बनाउन सकै नरैनापुरदेखि नेपालगञ्ज जोड्ने बाटो पनि छोटो हुने र दुबै पालिकाका नागरिकलाई सहजताको साथै जोखिम युक्त यात्रापनि टुंगिने थियो ।’

राप्ती नदीमा हिउँदको समयमा कम पानी हुने भएकाले डुङ्गाको यात्रा सहज भए पनि बर्षामा राप्ती नदीमा आउने बाढीले डुङ्गामा वारपार गर्न जोखिमपूर्ण हुने गरेको छ ।

नदी तार्नेकाम गर्दै आएका दिनेश मल्लाहले नदी तारे बापत प्रतिव्यक्ति १० रुपैयाँ, गाईभैँसीका लागि २०, साइकलका लागि १५ र मोटरसाइकलका लागि ६० रुपैयाँ लिने गरेको बताए ।

तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्राको दीर्घकालीन समाधानका लागि फक्तेपुर, गंगापुर, मटेहिया र होलिया, बेतहनी पिप्रहवा, खडैचालगायतका गाउँलाई जोड्ने पुल निर्माणको माग गर्दै आएका छन ।

फोटो : अजमत अली सिद्दिकी (बाब्लु) / सदरलाइन डटकम

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार
ताजा समाचार