समाचार सारांश
- गर्मी र खडेरीका कारण बाँकेका १४ वटा सामुदायिक वनमा डढेलो लाग्दा करिब ४,५०० हेक्टर क्षेत्र प्रभावित भएको छ।
- डढेलोका कारण वन्यजन्तुको वासस्थानसमेत जोखिममा परेको छ भने जनशक्ति र स्रोत अभावले नियन्त्रण कठिन भएको छ।
- डिभिजन वन कार्यालय बाँकेले सीमित साधनसहित नियन्त्रण प्रयास जारी राख्दै दमकल र थप स्रोत आवश्यक भएको जनाएको छ।

नेपालगञ्ज : बढदो गर्मीसँगै बाँकेका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा स्रोत र जनशक्ति अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ ।
डिभिजन वन कार्यालय बाँकेका अनुसार शमशेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्तीपीडित गुलरी सामुदायिक वनलगायत १४ वटा सामुदायिक वनमा लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
डिभिजन बनका निमित्त प्रमुख सुशील सुवेदीले बनमा लागेको आगो नियन्त्रणमा लिन कार्यालयसँग सीमित साधन हुँदा दुर्गम तथा वनको भित्री भागमा फैलिएको आगो निभाउन कठिन भइरहेको बताए ।
विशेषगरी अग्लो भूभाग र भित्री क्षेत्रमा लागेको डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ । कार्यालय सँग दुई हजार लिटर पानी बोक्ने एक ट्याक्टर र १४ जनाको मात्र डढेलो नियन्त्रण दस्ता भएकोले पनि बनमा लागेका आगो नियन्त्रणमा लिन कठिन भएको हो ।

वन क्षेत्रमा लगातार खडेरी बढ्दै जाँदा आगो थप फैलिने खतरा रहेको कार्यालयले जनाएको छ । प्रभावकारी नियन्त्रणका लागि वनभित्रै पुग्न सक्ने दमकलसहित थप उपकरण र जनशक्ति आवश्यक रहेको माग गरिएको छ ।
बाँकेमा करिब ५० हजार हेक्टर वनक्षेत्र रहेको जनाउँदै निमित्त प्रमुख सुवेदीले डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल अति आवश्यक भएकाले दमकलको व्यवस्था गर्न माग गरे ।
उनले बढ्दो खडेरीले वनका भित्री क्षेत्रमा डढेलो झन् बढेको उल्लेख गर्दै केही दिनभित्र पानी परेन भने वनडढेलो झनै धेरै ठाउँमा बढ्ने खतरा रहेको प्रस्ट पारे । वनडढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम निरन्तर रूपमा जिल्लामा सञ्चालन गर्दै आएको र वनका उपभोक्ता तथा सामुदायिक वनका पदाधिकारीलाई पनि बेला बेला तालिम दिँदै आएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।



