समाचार सारांश
- लुम्बिनी प्रदेशमा बालअधिकार संरक्षण र प्रवर्द्धनका लागि शालिकराम पाण्डेको संयोजकत्वमा १५ सदस्यीय नागरिक सञ्जाल गठन गरिएको छ।
- भालुवाङमा आयोजित कार्यशालाबाट गठन गरिएको सञ्जालले नीति मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताइएको छ।
- सहभागीहरूले बालबालिकाको हकहित सुनिश्चित गर्न सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

कपिलवस्तु : लुम्बिनी प्रदेशमा बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धनलाई थप सुदृढ बनाउने उद्देश्यले शालिकराम पाण्डेको संयोजकत्वमा १५ सदस्यीय प्रदेशस्तरीय संघ संस्थाहरूको नागरिक सञ्जाल गठन गरिएको छ ।
पिस नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा भालुवाङमा सम्पन्न २ दिने बालअधिकारका लागि नागरिक संस्थाहरूको भूमिका सम्बन्धी कार्यशालाबाट सो सञ्जाल गठन गरिएको हो ।
नवगठित कार्यसमिति सदस्य सचिवमा मणिप्रसाद गैरे चयन भएका छन् । सदस्यहरूमा दामोदर गौतम, गीता अर्याल, देवका खनाल, इन्द्रमणि पौडेल, जगत राना, रमेश सिटौला, चिरञ्जिवी ज्ञवाली, गोविन्दप्रसाद लामिछाने, राजेन्द्र प्रसाद राजभण्डारी, राजु आचार्य, विश्वप्रकाश भट्टराई, तुल्सी चौधरी र बालक्लवका प्रतिनिधी समेत रहेका छन् ।
संजालका संयोजक पाण्डेले नीति तथा कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘नीति बन्नु मात्र उपलब्धि होइन, त्यसको व्यवहारिक कार्यान्वयनले मात्रै बालबालिकाको जीवनमा वास्तविक परिवर्तन ल्याउँछ ।’
कार्यक्रममा सहभागी रमेश सिटौलाले बालबालिकाको उचित हेरचाह, संरक्षण र विकास सुनिश्चित गर्न सके मात्र राष्ट्रले सक्षम र जिम्मेवार नागरिक प्राप्त गर्ने उल्लेख गरे । उनले बालअधिकारलाई व्यवहारमै लागू गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

सदस्य सचिव गैरेले अझै पनि धेरै बालबालिका हिंसा, शोषण तथा आधारभूत अधिकारबाट वञ्चित भइरहेको उल्लेख गर्दै बाल अधिकार संरक्षणका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।
त्यस्तै, सेभ द चिल्ड्रेनका प्रोग्राम म्यानेजर दिलबहादुर ऐरले बालबालिका क्षेत्रमा सुधार ल्याउन विभिन्न निकायसँग सहकार्य र साझेदारीमार्फत काम भइरहेको जानकारी गराए ।
कार्यक्रममा पिस नेपालका कार्यक्रम व्यवस्थापक योगेन्द्र बुडा र बाल अधिकार संयोजक विजयकुमार अधिकारीले सहजीकरण गरेका थिए ।
नवगठित सञ्जालले प्रदेशभर बालबालिकाको पहिचान, अधिकार संरक्षण तथा प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । साथै, पिस नेपालले “बाल अधिकारका लागि नागरिक संस्थाहरूको सुदृढीकरण कार्यक्रम” सञ्चालन गरिरहेको जानकारी दिइएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यशालामा विशेषगरी बाल अधिकारसँग सम्बन्धित नीति, कानुन तथा तिनको प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको थियो ।


