समाचार सारांश
- नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगञ्ज वडा नं. १९ र २० मा घरदैलो तथा कोणसभा गरेका छन्।
- उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
- साथै सडक, पुल, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्ने योजना अघि सारेका छन्।

नेपालगञ्ज : नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बुधबार (आज) विहानी चरणको निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत नेपालगन्जको वडा नं १९ र २० मा घरदैलो तथा कोण सभा गरका छन् ।
उम्मेदवार राईले पार्टीका अगुवा कार्यकर्ताका साथमा वडा नं १९ नं वडाको फारम टोल, भैयापुर, मोहनपुर तथा वडा नं २० को थपुवा नयाँ बस्तीमा मतदाताका घरघरै पुगेर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित प्रतिबद्धताहरू राखेका थिए, भने कोण सभामा त्यहाँका स्थानीयले उठाउँदै आएका अजेन्डालाई सम्बोधन गरेका छन् ।
वडा नं २० मा आयोजित कोण सभालाई सम्बोधन गर्दै राईले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषयमा बढ्ता जोड दिए । ‘मलाई थाहा छ नेपालगञ्जको वडा नं १८ र २० अनी डुडुवाको ४ र ५ नं वडामा पर्ने अमरहवा बस्तीमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषय सबैभन्दा धेरै छ ।’, राईले भने ‘ अहिले निर्वाचन आचार संहिताले धेरै कुरा बोल्न मिल्दैन। तर यहाँहरूले यत्ति बुझ्नुस् कि यो विषय निर्वचन लगत्तै समाधान हुन्छ ।’

नेकपा एमाले नै भूमिहिन र सुकुम्बासीहरूको अधिकारका लागि सुरुदेखि लड्दै आएको पार्टी भएको भन्दै राईले सुकुम्बासी र भूमिहिनको मुद्दालाई आफूले प्राथमिकतामा राखेको पनि प्रष्ट पार्नुभयो। व्यवस्थित बसोबास कायम गर्ने सम्बन्धमा राईले आफ्नो प्रतिबद्धता पत्रमा प्राथमिकताकाका साथ उल्लेख गरेका छन् । जसबाट लामो समयदेखि समस्या ब्यहोरिरहेका यहाँका भूमिहीन र सुकुम्बासीहरू आशावादी भएका छन् ।
राईले वडा नं २० सबैभन्दा ठूलो तर सबैभन्दा पछाडि परेको वडाका रूपमा आफूले महसुस गरेको बताउँदै राईले भने, ‘मेरो पहलो प्राथमिकता सबैभन्दा कम विकास भएको र सबैभन्दा ठूलो बस्ती भएको यो वडामा छ ।’
त्यस्तै वडा नं १९ मा आयोजित कोण सभामा उम्मेदवार राईले यस क्षेत्रको बाटोघाटो, पुलपुलेसा, शिक्षा–स्वास्थ्य क्षेत्रको आवश्यकता आफूले बुझेको र सोहीअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।


