समाचार सारांश
- नेपाली कांग्रेसले बाँके क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
- प्रतिबद्धतामा सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी र सामाजिक क्षेत्रका विभिन्न कार्यक्रम समेटिएका छन्।
- भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, कोहलपुर रिङरोड, सडक निर्माण र कृषिमा सहयोगलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

राप्तीसोनारी (कुसुम) : नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता–पत्र सार्बजनिक गरेको छ ।राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त पत्र सार्वजनिक गरिएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीको सभापतित्व एवम् कांग्रेस बाँकेका सभापति एवम् उम्मेदवार गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले स्वागत गर्दै उद्देश्यमाथी प्रकाश पारेका थिए ।
उम्मेदवार गौडेलले आफ्नो प्रतिवद्धतामा सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्था, शिक्षा र स्वास्थ्य, पुर्वाधार र शहरी विकास, कृषि उद्योग ब्यापार र रोजगारी, युवा तथा खेलकुद, महिला असहाय बालबाबालिका जेष्ठ नागरिक तथा सिमान्तकृत समुदाय, सँस्कृति पर्यटन वन तथा वातावरण, खानेपानी तथा सरसफाई, सञ्चार तथा पत्रपत्रिका लगायत विषयहरुलाई मुख्य रुपमा समेटेका छन् ।

प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त शासन ब्यवस्था स्थापित गर्ने र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाइने, संघीय बिद्यालय शिक्षा ऐन जारी गर्न पहल गरिने, बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ लाई शिक्षाको हवको रुपमा विकास गर्न नीति लिइने, कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिइने र कोहलपुरलाई यस क्षेत्रको ब्यवस्थित शहरको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।
यस्तै बजेट विनियोजन भईसकेको राप्तीसोनारीको बैजापुर कुम्भरदेिख नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रियामा अगाडी बढाउन पहल गरिने, कृषकलाई मल बीउ र औजार सहज रुपमा उपलब्ध गराउन पहल गरिने, राप्ती सोनारी र नरैनापुरमा रहेका रंगशालाको स्तरोन्नतीका साथै ब्यवस्थित गर्न पहल गरिने लगायत रहेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, पुर्वसभापति कृष्णप्रसाद पौडेल, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, कांग्रेस प्रदेश सभा–१ ‘क’ का सभापति अमरबहादुर बुढाथोकी, राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, नेपाली कांग्रेस राप्ती सोनारी–१ का वडासभापति मोहनराज डाँगी, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, तरुण दल क्षेत्र नम्बर १ का सभापति दिग्विजय राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव जयश्वर पौडेलले गरेका थिए ।


