
नेपालगञ्ज : आगामी निर्वाचनको मिति नजिकिएसँगै बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी चुलिएको छ । दशकौंदेखि स्थापित दलहरूले शक्ति सङ्घर्ष र नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै आम मतदातामा चरम वितृष्णा छाइरहेका बेला यसपटक परम्परागत राजनीतिको विकल्पमा एक सशक्त ‘स्वतन्त्र लहर’ देखिएको छ । दलहरूले केवल आफ्ना कार्यकर्ता र सिमित गुटको स्वार्थ रक्षा गर्ने ‘सिन्डिकेट’ चलाउँदा विकासका मुख्य मुद्दा ओझेलमा परेको जनगुनासो बढिरहेका बेला सौभाग्य जंग शाहको स्वतन्त्र उम्मेदवारीले स्थानीय राजनीतिमा गम्भीर रणनीतिक चुनौती खडा गरिदिएको छ ।
शाहले आफ्नो चुनावी मैदानमा आगमन कुनै राजनीतिक रहर मात्र नभई वर्तमान बेथितिको अनिवार्य प्रतिफल भएको उनले बताए । शाह स्वयम् यसलाई एउटा ‘बाध्यता’ का रूपमा व्याख्या गर्छन् । आफू सानो हुँदा विद्यालयमा पढ्ने ‘नेपाल विकासोन्मुख देश हो ।’ भन्ने भाष्य आज वयस्क हुँदा पनि नबदलिएको भन्दै, दलीय विचारधाराभन्दा माथि उठेर ‘स्वतन्त्र आवाज’ को बाटो रोज्नुको पछाडि उनी दलभित्र हुने ‘ह्वीप’ र दबाबलाई मुख्य कारण मान्छन् । दलमा आबद्ध हुँदा जनताको वास्तविक समस्याभन्दा पार्टीको एजेण्डा र माथिल्लो तहका नेताको निर्देशन मान्नुपर्ने बाध्यताले नागरिकका मुद्दा ओझेलमा पर्ने भएकाले दलीय दबाब मुक्त भएर जनताका पक्षमा संसदमा उभिनु नै आफ्नो एकमात्र लक्ष्य भएको उनले बताए ।

शाहले केवल चुनावी नारा मात्र होइन, निर्वाचित भएको पहिलो र दोस्रो आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी ठोस ‘टाइमलाइन’ सहितको विकास मोडल अघि सारेका छन् । उनको प्राथमिकतामा स्वच्छ खानेपानी र ग्रामीण अर्थतन्त्रको सुधार मुख्य रहेका छन् । नेपालगञ्ज र क्षेत्र नम्बर २ का विद्यमान खानेपानी पूर्वाधारमा ‘आरो फिल्टर प्लान्ट’ जडान गरी प्रत्येक घरमा शुद्ध ‘ट्याप वाटर’ पु-याउने लक्ष्य उनले राखेका छन् । त्यस्तै, ग्रामीण अर्थतन्त्र बलियो बनाउन ‘फार्मर्स मार्केट’ (कृषक बजार) को नवीन अवधारणा मार्फत बिचौलियाको अन्त्य गरी कृषकको आम्दानी सिधै बढाउने र ग्रामीण क्षेत्रका स्कुल तथा स्वास्थ्य चौकीमा सरसफाइ र कृषि तालिमका कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।
प्रशासनिक सुशासनका क्षेत्रमा शाहले ‘सहायता कक्ष’ को मोडल प्रस्ताव गरेका छन् । मालपोत, नापी र प्रहरी कार्यालय जस्ता सरकारी निकायमा कानूनका विद्यार्थी र वकिलहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरी सेवाग्राहीलाई सिधै सहयोग गर्ने प्रणालीले भ्रष्टाचार र ढिलासुस्तीलाई निरुत्साहित गर्ने उनको विश्वास छ । यसले सर्वसाधारणले कुनै ‘शक्तिशाली’ व्यक्तिको सहारा बिना नै सहजै सेवा पाउने र सरकारी संयन्त्रलाई ‘क्यु–फ्री’ तथा ‘डिजिटलाइज्ड’ बनाउन मद्दत पुग्ने देखिन्छ । संसदलाई केवल भाषण गर्ने थलो नभई ‘सामाजिक अभ्यास’ को केन्द्र मान्ने शाहले आफ्ना व्यवहारिक र सफल मोडलहरूलाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रशासनिक सुशासन र बिचौलिया मुक्त ग्रामीण अर्थतन्त्रको मार्गचित्र सहित उनले आगामी निर्वाचनमा आफ्नो चुनावी चिन्ह ‘कप प्लेट’ मा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातामा हार्दिक अपिल गरेका छन् ।


