
नेपालगञ्ज : नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी प्रदेश स्तरीय कार्यशाला आयोजना गरिएको छ ।
सो कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि लुम्विनी प्रदेशका सभा सदस्यहरुले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागि प्रदेश सभा सदस्यहरुले संविधानले नै प्रजनन स्वास्थ्य अधिकारलाई ग्यारेन्टी गरेकाले अपाङ्गता भएका व्यक्तिहरुले पनि त्यसको अनुभूति गर्नुपर्ने कुरामा आफुहरु प्रतिवद्ध रहेको जनाएका हुन ।

अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयन गर्ने उद्देश्यले नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा प्रदेश स्तरिय चेतनामुलक गोष्ठी सञ्चालन गरीएको संघका बाँके शाखा प्रबन्धक रश्मी श्रेष्ठले जानकारी दिईन ।
उनले यो कार्यक्रम अन्तरगत झण्डै ५ हजारलाई स्वाथ्य शिविरमार्फत काउन्सिलिङ्ग गर्न उनीहरुको अधिकारको बारेमा उनीहरुलाई नै सचेत बनाउने कार्य गरिरहेको जानकारी दिईन ।


लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल यादवले अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई मात्र नभएर आर्थिक र सामाजिक अधिकारलाई पनि कार्यान्वयन गर्ने सवालमा आफु प्रतिवद्ध रहेको बताए ।
लुम्विनी प्रदेश सभा सदस्य मिना सिद्दिकीले अपाङ्गता भएका व्यक्तिहरुले यौन तथा प्रजनन अधिकार प्राप्त गर्न नसकेको कुरामा जोड दिदै संविधान प्रदत्त अधिकार भएको बताईन ।
नेपाल परिवार नियोजन संघ बाँके अध्यक्ष बदरुदुजा खाँको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बादशाह कुर्मी, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी पत्रकार महासंघका अध्यक्ष नविन गिरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका केन्द्रीय कार्यक्रम संयोजक विवेक रिसाल र सहजकर्ता जीवन गिरीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार ओवीराज आचार्यले सहजीकरण गरेको कार्यक्रमको स्वागत संघका कानून विशेषज्ञ इश्वरी प्रसाद ज्ञवालीले गरेका थिए । बाँकेमा १३ हजार ५ सय २२ जना विभिन्न १० प्रकारको अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।



