सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउछ: मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १३ पुष २०८२, आईतवार ११:५५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताएका छन्।साथै उनले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो फेस्टिभलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्ने भन्दै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।


दुवै देशको सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताए । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा फेस्टिभलका बहसले नयाँ दिशा दिने बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा फेस्टिभल उद्घाटन गरिएको हो । महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै नेपाल र भारतका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महानगरको जिम्मेवारी छोड्दै बालेन

१३ पुष २०८२, आईतवार ११:५५
नेपालगञ्ज : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् । आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव […]