
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राख्दै भनेका छन–‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो ।’
प्रधानमन्त्री ओलीका अनुसार विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियतापूर्वक लागेको छ । विपिनका आमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्रीलाई भेटेका हुन ।

विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर उनीहरु फर्केका हुन । ‘विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले नेपाली पक्षले यस प्रकरणलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्दै सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।
कञ्चनपुर जिल्लाका २२ वर्षीय विपिन उच्च शिक्षा र रोजगारीका लागि इजरायल गएकामा उनी गत वर्ष अक्टोबरमा हमास आतङ्ककारी समूहको आक्रमणपछि अपहरणमा परेको पुष्टि भएको छ ।
आक्रमणमा नेपालका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । त्यही घटनामा विपिनलाई हमासले अपहरण गरेर लगेको थियो । त्यसपछि उनको उदरका लागि निरन्तर प्रयास भइरहेको छ । ।


