
नेपालगञ्ज : बाँकेमा महिला सशक्तिकरणका लागि क्रियाशिल नारी विकास केन्द्र नेपालगञ्जले आफ्नो स्थापनाको ५० औ वर्ष स्वर्णमहोत्सवको रुपमा मनाउने क्रममा शुक्रबार कार्यालय परिसरमा विभिन्न जातिका फलफुलका ५० वटा विरुवा रोपेर स्वर्णमहोत्सवको सुरुवात गरेको छ ।
नारी विकास केन्द्रका संस्थापक माधुरी शर्मा , लुम्बिनी प्रदेस सभा सदस्य मिना कुमारी श्रेष्ठसमेतको अगुवाईमा नारी विकास केन्द्रको परिसरमा सस्थाका संस्थापक नेतृहरुको सहभागितामा बृक्षरोपण कार्यक्रम आयोजना गरिएको कोषाध्यक्ष रचना श्रेष्ठले जानकारी दिईन ।
२०३२ सालमा महिला शिक्षा र सशक्तिकरणका लागि स्थापना भएको सो संस्थाले छात्रा शिक्षाका लागि छोरी पढाउ अभियान नै सञ्चालन गर्नुको साथै विपन्न, सिमान्तकृत, घरेलु हिंशा पीडित, महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमुलक तालिम सञ्चालन गरी उनीहरुलाई सक्षम बनाउने कार्यमा सक्रिय रहेको उनले बताईन ।

सो अवसरमा संस्थापक शान्ति श्रेष्ठ, शान्ति हमाल, कार्यबहाक अध्यक्ष शीला शाह, सचिव मनका बैद्य जोशी, लक्ष्मी श्रेष्ठ, बिन्दु चर्तीमगर, सपना राणालगायतको सहभागिता रहेको थियो ।
शुक्रबार नै संस्थाले स्वर्णमहोत्सव मनाउन तय गरिएको कार्यक्रम अनुसार भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीलाई फलफूल तथा जुस वितरण गरिएको छ ।


