पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ९ श्रावण २०८२, शुक्रबार १९:३३
 

रुपन्देही :  लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् ।

नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताएका हुन ।

उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले पूर्वाधार प्राधिकरण ऐन बनाएको छ, जसमा स्पष्ट रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने आधार राखिएको छ । प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध छ । दोस्रो आवधिक योजनाका लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारको लगानी सन्तुलित रूपमा अघि बढिरहेको कुरामा जोडदिदै उनले चालू खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भने, ‘हामी चालू खर्च घटाउनेमा पहिलो नम्बरमा छौं, र त्यो प्रमाणित गरिसकेका छौं । राजस्व वृद्धिका क्षेत्रमा समेत प्रदेश सरकार सफल भएको छ । डेढ अर्ब रुपैयाँ राजस्व वृद्धि सम्भव भएको छ, जसको श्रेय हामीले थालेको सुशासनको अभियानलाइ जान्छ ।’


मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । उनले इञ्जिनियर समुदायले विज्ञान, प्रविधि र पूर्वाधार विकासमार्फत राष्ट्र निर्माणमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै भने, ‘पूर्वाधारविना आर्थिक विकास सम्भव छैन, र इञ्जिनियरबिना पूर्वाधार सम्भव छैन । त्यसैले राष्ट्रको समुन्नतिको साँचो इञ्जिनियरहरूको हातमा छ ।’

प्रदेश सरकारले पारदर्शी, जनउत्तरदायी र परिणाममुखी शासन प्रणाली विकास गर्न प्राथमिकता दिएको उल्लेख गर्दै उनले इञ्जिनियरहरूको ज्ञान, दक्षता र सहकार्य यस अभियानमा अपरिहार्य रहेको बताए ।

सडक, पुल, भवन, जलविद्युत, सिँचाइ, सूचना प्रविधि, वातावरणलगायतका क्षेत्रको विकासमा इञ्जिनियरहरूको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उनले प्राकृतिक प्रकोपको बेला तात्कालिक जोखिम मूल्यांकनदेखि पुनर्निर्माणसम्मको प्रक्रियामा खेल्ने भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले पेशागत अनुशासन, इमानदारीता, निष्पक्षता, जवाफदेहिता र मर्यादित आचरण इञ्जिनियरहरूको मौलिक विशेषता भएको उल्लेख गर्दै ती मूल्य र सिद्धान्तअनुसार काम गरेर जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।

कार्यक्रम नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष ई. महेश्वर लम्सालको अध्यक्षता र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, नेपाल इञ्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. सुभास चन्द्र बराल, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडलगायतले लुम्बिनी प्रदेशलाई पूर्वाधार विकासको माध्यमबाट समृद्ध बनाउन सकिने पर्याप्त सम्भावना रहेकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

`पार्क बनाउने हाेड हाेइन, गुणस्तरीय विकास चाहिन्छ´

९ श्रावण २०८२, शुक्रबार १९:३३
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उप-महानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान (फुलबारी पार्क) को स्थलगत अनुगमन गरेका छन् । शनिबार भएको उक्त निरीक्षणका क्रममा उनले सरोकारवाला पक्षसँग छलफल गर्दै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यस क्षेत्रको थप सम्भावना पहिचान र प्रवर्द्धनमा सरोकारवाला सबै पक्षको सहभागिता आवश्यक रहेकोमा जोड दिए […]