नरैनापुरमा बाढी पूर्व सूचनाको साईरन जडानपछि स्थानीय ढुक्क

रुद्र सुवेदी ६ श्रावण २०८२, मंगलवार १७:०५
 

नरैनापुर (बाँके) : बाँके नरैनापुर वडानं. ५ र ६ मा बाढी पूर्व सुचनाको साईरन जडान गरिएपछि राप्तीनदीमा आउने बाढीबाट जोगिन स्थानीयहरु ढुक्क भएका छन् ।

राप्ती नदीमा वर्षेनी आउने बाढीको कारण बाँकेको नदी तटिय आसपासका गाउँहरुलाई बाढीको चपेटाबाट जोगाउन जडान गरिएको साईरनबाट बाढीको अवस्थाको बारेमा स्थानीयलाई सचेत बनाउन सूचना प्रवाह हुने भएका कारण डुवानबाट महत्वपूर्ण सामान तथा चौपाय जोगाउन सक्ने भएका हुन ।

नरैनापुर–६ का स्थानीय लक्षिराम धोवीले राप्ती नदीको काटान र डुवानका कारण बाँकेको नरैनापुरको वडानं. ५ र ६ अत्यान्तै जोखिममा पर्ने भएपछि पालिकाको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रले चार ठाउमा बाढी पूर्व सूचनाको लागि साईरन प्रणाली जडान गरेपछि आफुहरु सुरक्षित भएको बताए ।

उनले पहिलाको अवस्था सम्झदै भने–‘ पहिला सूचना पाईदैनथ्यो जोखिममा परियो । तर, अहिले भने राप्ती नदीमा बाढी आउने संकेत साईरन बजाएर, मोवाईलमा एसएमएसका माध्यामबाट आउने गरेपछि हामी ढुक्क भएका छौ ।’

उनले २०७१ सालको बाढीको स्मरण गर्दै भने–‘त्यो बेलामा खेतमा काम गर्दै थियौ, बाढी पूर्व सूचनाको कुनै पनि संकेत थिएन एक्कासी राप्ती नदीमा बाढी आयो जे जस्तो अवस्था थियौ ज्यान जोगाउन तिर लाग्यौ । पहिला सूचना पाएको भए धनमाल जोगाउन सक्ने थियौ । तर, सकेनौ त्यो बाढीले धेरै नोक्सान पुरायो ।’

नरैनापुर कोदरबेटवाका स्थानीय त्रिभुवनप्रसाद यादव बाढी पूर्व सुचनाको संयन्त्रका कारण राप्तीनदी तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगाउनको लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

उनले भने–‘राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई लक्षित गरी साईरन बजाउदा नदीमा एक्कासी बाढी आउदा साईरन बज्ने र यसले आफुहरुलाई जोगिन र महत्वपूर्ण कागजपत्र, अनाज, चौपायलगायतको जोगाउन सजिलो भएको छ ।’


उनले पहिला बाढी आईहाले जोगिन हम्मे हम्मे हुने गरेको तर, गाउमा साईरन जोडिएपछि बाढीको सूचना पाउने वित्तिकै साईरन बज्ने हुँदा आफुहरु सुरक्षित भएर आफ्नो तयारी गर्न सक्ने भएको बताए ।

नरैनापुर गाउपालिका स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख सम्पर्क व्यक्ति बक्षराज विश्वकर्माले पालिकाको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रले ५ र ६ नं. वडाको ४ ठाउमा बाढी तथा विपद पूर्व सूचनाको स्वचालित साईरन जडान गरिएको जानकारी दिए ।

उनले जल तथा मौशम पूर्वानुमान कार्यालयबाट प्राप्त गरेको सूचनाको आधारमा साईरन बजाउने गरिएको बताए । त्यहाँबाट प्रवाह हुने सूचना नेपालीमा हुने र नरैनापुरको वडनं. ५ र ६ अबधी भाषी बाहुल्यता भएकोले आफुले ती सूचनाहरु अबधीमा रुपान्त्रण गरी बजाउने गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेश विपद फोकल पर्शन गंगाधर पाण्डेले मनसुन जन्य विपदको बारेमा जल तथा मौशम विभागले मनसुनको अवस्थाको बारेमा पूर्व सुचना दिनेभएकोले पनि बाढी जन्य विपदको पूर्व सुचना प्रणालीले विपद रोक्न नसके पनि विपदबाट जोगिन मद्दत पुराउने भएकोले वाढी पूर्व सुचनाका संयन्त्रहरु पनि प्रयोगमा ल्याईएको बताए ।

उनले प्रदेशको १२ जिल्लाका सबै स्थानीय तहमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको र जुनसुकै विपदको तत्काल स्थानीय आपतकालिन केन्द्रबाट सम्बोधन गरिने गरी व्यवस्था मिलाईएको जानकारी दिए ।

बाढी पूर्व सुचनाको कारण क्षति न्यूनिकरण गर्न प्रभावकारी हुँदै आएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बालश्रमबिरुद्धको अभियान जारी, पाँच बालश्रमिकको उद्दार

६ श्रावण २०८२, मंगलवार १७:०५
नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रम बिरुद्ध अभियान सञ्चालनमा ल्याएको छ । उपमहानगरको टोलीले बजारमा संयुक्त अनुगमनका माध्यामबाट बालश्रम बिरुद्ध अभियान सुरु गरेको हो । नेपालगञ्जलाई बालश्रम मुक्त बनाउन योजनाबद्ध कार्यक्रमहरु निर्माण गरिएको उपमहानगरपालिकाका बाल कल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताईन । उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका निर्माणका लागि पनि नेपालगञ्ज […]