
नेपालगञ्ज : ‘वन क्षेत्रमा लैङ्गिकता तथा सामाजिक समावेशीकरण’ विषयक सार्वजनिक संवाद गरिएको छ । वन क्षेत्रका नीतिगत तथा कार्यान्वयन तहमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा सो संवाद गरिएको हो ।
संवादका क्रममा सहभागीहरूले वन उपयोगमा लैङ्गिक विभेद, सामुदायिक वन उपभोक्ता समूहमा नेतृत्व तहमा महिलाको सहभागिता, दलित र अन्य समुदायको पहुँचको अवस्था तथा वन व्यवस्थापनका सवालमा सामाजिक न्यायसम्बन्धी विविध पक्षमा छलफल गरेका थिए ।

वन क्षेत्रमा महिला सहभागिता बढाउनका लागि लेखा व्यवस्थापन/ कार्यालय व्यवस्थापन तथा अन्य प्राविधिक कुराहरुका साथ–साथै नेतृत्व क्षमता बढाउन जरुरी रहेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुहका सचिव सावित्रा ओलीले बताईन् ।
यस्तै वडा नम्बर ८ का सदस्य शुशिला कुमारी विकले नेतृत्वतहमा महिला हुँदा काम गर्न सजिलो हुने भन्दै आगामी दिनमा पनि वडा र वन उपभोक्ता समुहसित मिलेर वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने बताईन् ।
छलफलले नीति निर्माण तहदेखि कार्यान्वयनसम्म सबै तहमा लैङ्गिक तथा सामाजिक दृष्टिकोणलाई समावेश गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
कार्यक्रम वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश र सञ्चारिका समूह लुम्बिनीको संयुक्त आयोजनामा सम्पन्न भएको हो कार्यक्रममा सञ्चारिका समुह लुम्विनी प्रदेशका उपाध्यक्ष रुपा गहतराजले सहजीकरण गरेकी थिईन् ।छलफलमा सरोकारवाला निकाय, स्थानीय, जनप्रतिनिधि, महिला, तथा अन्य सिमान्तकृत समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


