साँघुरा गल्लीमा आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता

सदरलाइन संवाददाता २० माघ २०८०, शनिबार १८:१९
 

नेपालगञ्ज : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।

नेपालगञ्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने गल्लीभित्र पुराना बस्ती रहेका छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन यो कार्यमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ ।

वडा नं ७ मा पुराना कुवालाई संरक्षण गरी चार हजार लिटर पानी २४सै घण्टा ट्याङ्कीमा राख्ने व्यवस्था मिलाइएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अधिकृत शिव सुवेदीले जानकारी दिए ।

“वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा कुवा संरक्षण गरी आगजनीका बेला पानीलाई प्रयोग गर्नसक्ने अवस्थामा ल्याइएको छ”, सुवेदीले भने, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब कुवाको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ स्वयंसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतनाका लागि तालिमसमेत सञ्चालन भएको सुवेदीले बताए । दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यो विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिने नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए ।


प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सयौँ वर्ष पुराना कुवाको संरक्षण सुरु गरिएको छ । “प्रयोगमा आउन छाडेपछि पुरिएका ऐतिहासिक कुवाको पुनःनिर्माणमा जुटेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छाँै”, वडाध्यक्ष श्रेष्ठले भने, “स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मतसम्भार गर्ने योजना रहेको छ ।”

पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगाधुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताए ।

वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीय खुसी भएका छन् । कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको स्थानीय चन्द्रकला गुरुङले बताए ।

वडा नं ७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदनआश्रित मार्गटोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले प्राविधिक सहयोग गर्दै आएको जिल्ला विपत व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सवारी दुर्घटना कम गर्न २५ वटा जेब्राक्रस

२० माघ २०८०, शनिबार १८:१९
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्ड खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस निर्माण कार्य सुरु गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जसँगको समन्वयमा नेपालग ञ्जको राँझादेखि कोहलपुरसम्मको विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला […]