नेपालगञ्ज : जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि बाँकेको कोहलपुरबाट १२ क्विन्टल तरकारी सहयोग स्वरुप पठाइएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा प्रयोग हुने तरकारी राहतस्वरुप भुकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।
कोहलपुर कृषि बजार समितिका ब्यापारीहरुले संयुक्तरुपमा हस्तान्तरण गरेको १२ क्विन्टल तरकारीजन्य सामग्री लिएर आफ्नो टीम जाजरकोट हिँडेको अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार कृषि बजारमा ब्यवसाय गर्दै आएका १२ जना ब्यवासायीहरुले संयुक्तरुपमा १७ बोरा आलु, ३ बोरा काउली, १ बोरा टमाटर, १ बोरा फर्सी, २ बोरा बन्दा, ३ पेटी स्याउसहित खुर्सानी, अदुवा लगायत तरकारीजन्य खाद्यान्न उपलब्ध गराएका थिए ।
राहत सामग्री शुक्रवार बेलुकासम्म भुकम्प पीडितहरुलाई वितरण गर्ने तयारी गरिएको बस्नेतले बताए ।