समाचार सारांश
- भारतको बिहारस्थित मुंगेरको जमालपुरमा नेपालसहित दक्षिण एसियाका पत्रकार तथा सञ्चारकर्मीको सहभागितामा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन–२०२६ सम्पन्न भएको छ।
- सम्मेलनमा प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा, सञ्चार प्रविधि र दक्षिण एसियाली सञ्चारकर्मीबीच सहकार्य तथा अनुभव आदान–प्रदानबारे छलफल भएको छ।
- सहभागीहरूले साझा चुनौती समाधान र क्षेत्रीय पत्रकारिता सहकार्यका लागि नियमित संवाद र अन्तर्राष्ट्रिय मञ्चको आवश्यकता औँल्याएका छन्।

जमालपुर, मुंगेर, बिहार (भारत) : दक्षिण एसियाभरका पत्रकार तथा सञ्चारकर्मीहरूबीच संवाद, सहकार्य र अनुभव आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यका साथ भारतको बिहार राज्यस्थित मुंगेर जिल्लाको जमालपुरमा ’अन्तर्राष्ट्रिय मिडिया सम्मेलन–२०२६’ (ग्लोबल मिडिया समिट–२०२६) सम्पन्न भयो ।
भारतको ’अल इन्डिया जर्नलिस्ट्स युनियन’ (एआइजेयु) द्वारा आयोजित उक्त सम्मेलन जमालपुरस्थित सिद्धि विनायक म्यारिज हलमा सम्पन्न भयो । कार्यक्रममा भारतीय राज्यसभा सदस्य डा. भीम सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए भने मुंगेरका विधायक प्रणव कुमार पनि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
यस शिखर सम्मेलनको अल इन्डिया जर्नलिस्ट्स युनियन’ (भारत) का राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता थियो; जसमा ’सार्क जर्नलिस्ट्स फोरम इन्टरनेसनल’ का अध्यक्ष राजु लामा र महासचिव अब्दुर रहमान पनि सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भीम सिंहले पत्रकारिता समाजलाई सूचना, विचार र तथ्यहरूसँग जोड्ने एक महत्त्वपूर्ण माध्यम भएको बताए । उनले सञ्चारकर्मीहरूबीचको अन्तर्राष्ट्रिय सहकार्यले पत्रकारितालाई अझ बढी जिम्मेवार र प्रभावकारी बनाउन योगदान पु¥याउन सक्ने कुरामा जोड दिए ।
डा. सिंहले भने, “पत्रकारिता लोकतन्त्रको एक महत्त्वपूर्ण स्तम्भ हो। हाम्रा सीमाहरू फरक भए पनि समाजलाई सत्य, तथ्य र सही सूचना उपलब्ध गराउनु नै पत्रकारहरूको जिम्मेवारी र उद्देश्य हो । दक्षिण एसियाका पत्रकारहरूबीचको संवाद र सहकार्यले पत्रकारिता क्षेत्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउन सक्छ ।”
त्यसैगरी, सार्क जर्नलिस्ट्स फोरम इन्टरनेसनलका अध्यक्ष राजु लामाले दक्षिण एसियाली मुलुकका पत्रकारहरूबीच नियमित संवाद र सहकार्यको आवश्यकतामा जोड दिए । उनले जमालपुर सम्मेलनजस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले पत्रकारहरूलाई एक–अर्काका अनुभव बुझ्न र साझा मुद्दाहरूमा सहकार्य गर्न अवसर प्रदान गर्ने बताए ।
लामाले भने, “दक्षिण एसियाली पत्रकारहरूबीचको सम्बन्ध समाचार आदान–प्रदानमा मात्र सीमित हुनुहुँदैन। पत्रकारहरूको अधिकार, पेसागत सुरक्षा, प्रेस स्वतन्त्रता र मिडिया क्षेत्रले सामना गरिरहेका साझा चुनौतीहरूजस्ता विषयमा पनि सहकार्य आवश्यक छ। जमालपुर सम्मेलनले यस्तो संवादका लागि नयाँ वातावरण सिर्जना गरेको छ ।“
यस शिखर सम्मेलनमा सार्क जर्नलिस्ट्स फोरम नेपाल च्याप्टरका संयोजक रुद्र सुवेदी, सह–संयोजक मो. आरिफ अन्सारी, बिहार च्याप्टरका अध्यक्ष डा. शशि भूषण कुमार, मधेस च्याप्टरका संयोजक मो. सदाब मलिक तथा सदस्यहरू रमेश चन्द्र कुमाल, अजमत अली, सुशील कुमार खड्का, अभिलाष गुप्ता, पवन प्रसाद साह र अरुण कलवार लगायत विभिन्न देशका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
सहभागीहरूले पत्रकारिता तथा सञ्चार क्षेत्रका समसामयिक विषयहरूमा छलफल गरे र आ–आफ्ना देश तथा क्षेत्रका अनुभवहरू आदान–प्रदान गरे । छलफलहरू पत्रकारिताले सामना गरिरहेका चुनौतीहरू, सञ्चार प्रविधिमा भएका विकासक्रम, पत्रकारहरूको पेसागत सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग तथा दक्षिण एसियाली सञ्चारकर्मीहरूबीचको सम्बन्ध सुदृढीकरणमा केन्द्रित थिए ।
आयोजकहरूले बताएअनुसार जमालपुरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलनले दक्षिण एसियाका पत्रकार तथा सञ्चारकर्मीहरूबीच आपसी सम्बन्ध, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण आधार तयार पारेको छ ।
सहभागी पत्रकारहरूले यस सम्मेलनले विभिन्न देशका सञ्चारकर्मीहरूलाई एउटै मञ्चमा ल्याएको र पत्रकारिताका साझा विषयहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताए । उनीहरूले यस सम्मेलनले आगामी दिनमा दक्षिण एसियाली सञ्चारकर्मीहरूबीच अझ प्रभावकारी सहकार्य र नियमित संवादका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा व्यक्त गरे ।

