भूकम्पका घाइतेका लागि नेपालगञ्जमा ८० पिन्ट रगत सङ्कलन

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १६:१०
 

नेपालगञ्ज : जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगञ्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ ।

गम्भीर घाइते भएकालाई नेपालगञ्जस्थित भेरी अस्पताललगायत विभिन्न अस्पतालमा ल्याउन शुरु गरिएकाले रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम शुरु गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्धिकीले दिएको जानकारीअनुसार नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा १५८ पिन्ट रगत मौज्दात रहे पनि इमरजेन्सी अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन शुरु गरिएको हो ।


सिद्धिकीले भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा शुरु गरिएको खुला रक्तदानमा शनिबार ८० जनाले रक्तदान गरेर ८० पिन्ट रगत सङ्कलन भइसकेको र अझै रक्तदान जारी रहेको बताए । उनले बढीभन्दा बढी रगत सङ्कलन गर्न यो अभियानलाई आइतबार दिनभरि जारी राखिने बताए ।

समाजसेवी मीन मल्लले घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाइ सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रह बमोजिम ठुलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्त सञ्चार केन्द्रमा पुगेको बताए ।

उनले अहिलेसम्म धेरै रगतको आवश्यकता नपरे पनि उल्लेख्य परिमाणमा रगतको मौज्दात राख्न खुला रक्तदान जारी राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

१८ कार्तिक २०८०, शनिबार १६:१०
नेपालगञ्ज : डोटी जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको छन् । शनिवार राती साढे २ बजे जिल्लाको शिखर नगरपालिका–६ को अण्यौलस्थित केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा पर्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]