लाइफलाइनद्वारा मिर्गौलाका बिरामीलाई निःशुल्क परामर्श

सदरलाइन संवाददाता ५ कार्तिक २०८०, आईतवार १४:०५
 

नेपालगञ्ज : नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा.पारश श्रेष्ठले जानकारी दिए ।

परामर्श कार्यक्रममा डाइटिसियन कुबेर गिरीले डायलाइसिस गराइरहेका बिरामीहरुको डाइट प्लान, के खाने के नखाने, खानाको मात्रा कस्तो हुनुपर्छ लगायतका विषयमा जानकारी गराए । उनले बिरामीहरुले आफुले अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गरेको भन्दै अन्य समयमा जस्तै चाडपर्वमा समेत खानपान सन्तुलित गर्न बिरामीहरुलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा फिजिसियन डा. पारस श्रेष्ठले निमोनिया र फ्लू भ्याक्सिन लगायतका बारेमा जानकारी गराए ।

उनले भने, ‘एक हिसाबले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ, मिर्गौलाका बिरामीले लामो आयुको लागि आफैँ अपनाउनुपर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइएको छ, केही भ्रम र तथ्यहरुलाई हाम्रो पार्टबाट चिर्ने प्रयास गरेका छौं ।’


कार्यक्रममा उपस्थित बिरामीहरुले चिकित्सकहरुसँग विभिन्न विषयमा जानकारी लिएका थिए । बिरामीहरुका प्रश्न र जिज्ञासालाई डायटिसियन गिरी र डा. श्रेष्ठले स्पष्ट पारेका थिए ।

अस्पतालले दसैं तिहार लगत्तै बिरामीहरुलाई डाइट प्लान चार्टसमेत उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलाइसिस गराइरहेका २५ भन्दा बढी बिरामी कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा भेरी अस्पतालका फिजिसियन डा.संकेत रिसालले भेरी अस्पतालको डायलाइसिस सेवाको इतिहास स्मरण गर्दै बिरामीहरुलाई आत्मबल बलियो बनाउन आग्रह गरे । उनले चिकित्सकले भने बमोजिम खानपानलाई व्यवस्थित गर्न र स्वास्थ्यमैत्री जीवनशैली आत्मसात् गर्न समेत बिरामीहरुलाई अनुरोध गरे ।

पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएका छन् । बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासँग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दै गएको चिकित्सकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवाहरु विदेश गएपछि खतरामा थारु सखिया नाच

५ कार्तिक २०८०, आईतवार १४:०५
नेपालगञ्ज : नेपालीहरुको घर–घरमा वडादसैैँ भित्रिसकेको छ । घरदेखि बाहिर रहेका मानिसहरु दसैं मनाउन घर फर्किरहँदा गाउँघरमा दसैंको चहलपहल समेत बढेको छ । गाउँघरमा दसैंमा पिङ बनाउनेदेखि थारु समुदायले एक साताअघिदेखि सखिया नाच नाच्न थालेका छन् । दसैं पर्व सरु भएसँगै थारु बाहुल्यता रहेका बस्तीहरुमा सखिया नाच्न थालिए पनि पहिलेजस्तो […]