भारतीय राजदूतावासले छात्रावास निर्माणमा सहयोग गर्ने

सदरलाइन संवाददाता २४ जेष्ठ २०८०, बुधबार १६:५३
 

नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । क्याम्पसमा १७ वर्षअघि छात्रावास निर्माणका लागि कार्य सम्पादन सम्झौता भएकोमा हालसम्म निर्माण कार्य पुरा हुन नसकेपछि गत वर्ष दूतावासको टोली स्थलगत निरीक्षणमा आएको थियो ।

भारतीय पक्षले छात्रावासको पूर्णताका लागि पुनः लागत अनुमान तयार गरी दूतावासको सम्पर्कमा आउन आग्रह गरेको थियो । लगत्तै क्याम्पसले छात्रावास निर्माणका लागि लिखित कागजातसहित अनुरोध गरेकोमा भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपैयाँ सहयोग गर्न सकिने प्रतिबद्धता जनाएको क्याम्पस प्रमुख लालमणि आचार्यले जानकारी दिए ।

क्याम्पस प्रमुख आचार्यले भने, “फाइल अनुमादोनका लागि भारतको नयाँ दिल्ली पठाइएको जानकारी पाएका छौँ, त्यहाँबाट स्वीकृत प्राप्त भएपछि निर्माण कार्य अघि बढ्छ ।“ क्याम्पस प्रमुख आचार्यका अनुसार दूतावासले उपलब्ध गराउने रकमबाट नयाँ भवन बनाउन वा हाल जीर्ण रहेको भवनलाई नै अघि बढाउन सकिने गरी दुवै प्रस्ताव दूतावासबाट भएको छ । क्याम्पसले दूतावासबाट प्राप्त सहयोगमा सङ्घ, प्रदेश र स्थानीय सरकारको थप सहयोगमा नयाँ भवन बनाउने तयारी गर्दैछ ।


भारतीय दूतावासको सहयोगमा निर्माण भएको संरचना हाल जीर्ण छ । छात्रावास पुरानो संरचना काम नलाग्ने अवस्थामा पुगेको छ ।

क्याम्पसको डिग्री भवन र महिला छात्रावास निर्माणका लागि भारतीय दूतावाससँग सन् २००६ जुन २१ मा सम्झौता भई भ्याट बाहेक दुई करोड २४ लाख रुपैयाँको लागत अनुमान तयार भएकोमा गोर्खा–बडिमालिका जेभी कम्पनीले एक करोड ९६ लाखमा ठेक्का पाएको थियो । सम्झौता अनुसार ३० प्रतिशत मात्रै काम भएपछि ठेक्का सम्झौता तोडेर २०६८ फागुन २९ मा नर्सिङ–कालापानी जेभीले एक करोड ४० लाख रुपैयाँमा भ्याट, कन्टेन्जेन्सीबाहेक ठेक्का पाएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ ।

डिग्री भवन अलपत्र रहेकोमा उप–महानगरपालिकाबाट लगानी गरेर पूर्णता दिइएको छ । भारतीय दूतावासले २०१६ मे २ सम्म एक करोड ६२ लाख ६४ हजार ५६२ रुपैयाँ उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरका सरसफाइकर्मीको सुरक्षा र सम्मानको बारेमा अध्ययन सुरु

२४ जेष्ठ २०८०, बुधबार १६:५३
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सरसफाइको कार्य गर्दै आएका जनशक्तिको सुरक्षा र सम्मानको बारेमा अध्ययन गरिएको छ । आइडीएस नेपाल र नेपाल वातावरण पत्रकार समूहले सफाइकर्मीहरुको सुरक्षा र सम्मानको अवस्थाको बारेमा अध्ययन गर्न सुरु गरेको हो । अध्ययन समूहका निमेश रेग्मीले नेपालगञ्ज उपमहानगरमा परम्पपरागत रुपमा सरसफाईको क्षेत्रमा कार्यरत रहदै आएका […]