नेपालगञ्ज : यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशैभर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
जिल्लाका वरिष्ठतम् न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रूपमा तोकिएको हो ।
आयोगले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश खडानन्द तिवारी र कोहलपुर नगरपालिकामा जिल्ला अदालत बाँकेका श्रेष्तेदार तिर्थराज भट्टलाई निर्वाचन अधिकृत तोकेको छ ।
खजुरा गाउँपालिकामा जिल्ला समन्वय समिति बाँकेका जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनारलाई निर्वाचन अधिकृत तोकिएको छ भने जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मालाई जानकी गाउँपालिकामा खटाइएको छ ।
आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका उपन्यायाधिवक्ता नवीन कुमार भट्टलाई डुडुवा गाउँपालिका, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई राप्तीसोनारी गाउँपालिकामा निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै निर्वाचन आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका उपन्यायाधिवक्ता टेक बहादुर थापालाई बैजनाथ गाउँपालिका र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रेशम आचार्यलाई नरैनापुर गाउँपालिकामा खटाएको छ ।