नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको पुस २७ गते हुने जिल्ला अधिवेशनमा संस्थापन ईतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरुको घोषणा गरेको छ ।
पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा लड्ने उम्मेदवारहरुको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले उम्मेदवार घोषणा गरेका थिए ।
गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने घोषणा गरिएको छ ।
गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भुषालको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता एवम् कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो ।
जिल्ला सदस्यका उम्मेदवारहरुको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुषालले बताए । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुष २७ गते हुँदैछ ।