नेपालगञ्ज : एमालेको १० औ महाधिवेशनको तिथि नजिकिदै गर्दा बाँकेका नेताहरुले केन्द्रीय सदस्यको दाबी गर्दै सामाजिक सञ्जालमा आफुलाई सहयोग गर्नको लागि आव्हान गरेका छन् । यसरी आव्हान गर्नेहरुमा बर्तमान केन्द्रीय सदस्य मो. हारुणदेखि पुजन विश्वकर्मासम्म रहेका छन् ।
मधेस आन्दोलन तथा त्यसपछिका समयमा नेकपा एमालेलाई मधेस विरोधी पार्टीको रुपमा प्रहार भईरहँदा नेपालगञ्जमा खम्बाको रुपमा अडिग रहेका हारुन हाल नेकपा एमालेको केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज हुन ।
बाँके जिल्लाका स्थापित नेता हारुन विद्यार्थी र पत्रकारिताको राजनीतिसँगै एमालेको राजनीतिमा क्रियाशिल उनले पत्रकार महासंघको केन्द्रीय सदस्य र प्रेस चौतारी बाँकेको अध्यक्षको रुपमा सफलतापुर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
नेकपा एमालेको दुई पटक नेपालगञ्ज नगर कमिटीको सचिवको जिम्मेवारी सम्हालेका उनी ७ पटक बाँके जिल्ला कमिटीको सदस्य, एमाले भेरी अञ्चल कमिटीको सदस्य तथा प्रचार विभाग प्रमुख, नेपाल मुस्लिम ईत्तेहाद संगठन र लोकतान्त्रिक मधेसी संगठनमा समेत निरन्तर सम्वद्ध रहँदै आएका छन ।
हारुन ईत्तेहाद संगठनको चार कार्यकाल केन्द्रीय उपाध्यक्ष र लोकतान्त्रिक मधेसी संगठनको सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यको रुपमा तराई मधेसमा एमालेको संगठन विस्तारमा निरन्तर क्रियाशिल रहँदै आएका छन् ।
अप्mना कुरा प्रष्टसँग राख्न सक्ने हारुन कार्यर्कर्तामाझ लोकप्रिय नेताको रुपमा परिचित छन । बाँके जिल्लामा केही समयअघि चार हजार ५ सय बढि नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गराउन जिल्ला सह इन्चार्जको रुपमा उनको महत्वपूर्ण भूमिका रहेको एमाले बाँकेका नेताहरुको भनाई छ ।
पश्चिम नेपालकै मुस्लिम समुदायबाट स्थापित नेता हारुन आसन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक रहेका हारुनले केन्द्रीय सदस्यको रुपमा बाँकेमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निभाउदै आएका छन् ।