बैजनाथ (बाँके) : बाँकेमा ट्राफिक व्यवस्थापनको लागि छुट्टयाईएको १२ वटा बुथ मध्ये एक बुथमा महिला ट्राफिक प्रहरीले नेतृत्व सम्हालेकी छन । जिल्ला ट्राफिक कार्यालय कोहलपुर अन्तरगत कोहलपुर–सुर्खेत राजमार्गको चिसापानीको ट्राफिक बुथको नेतृत्वको जिम्मा महिला ट्राफिक हवल्दार सबिता रावलले सम्हालेकी हुन् ।
सवारी चापको कारण ट्राफिक व्यवस्थापनमा कठिन नेपालगञ्ज, कोहलपुर, राँझा, पूर्वपश्चिम राजमार्गको शम्शेरगन्ज, सम्झनामा हुलाकी सडकको खजुरा, र रत्न राजमार्गको चिसापानी छ । बाँकेमा अहिले एक दर्जन ट्राफिक पोष्टहरु छन् ।
बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आए पनि महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक प्रहरी हवल्दार रावल हुन ।
महिलाले चाहे पुरुष सरह काम गर्न सक्छन् भन्ने उनले चिसापानीमा गरेको कामले देखाएको छ । संगठनले विश्वास गरेर पठाएका १७ दिनको अन्तरालमा उनको नेतृत्वमा करिव डेढलाख रुपैयाँ बढी राजश्व समेत संकलन भएको छ ।
‘संगठनप्रतिको जिम्मेवारी पूरा गर्न म यहाँ आएको छु, इमान्दारीताका साथ काम गरेकी छु । मेरो कार्य गर्ने शैलीले गर्दा मलाई बिश्वास गरेर बाँके ट्राफिक प्रमुखले चिसापानीको जिम्मेवारी दिनुभएको छ, यहाँको ट्राफिक व्यवस्थापन मजबुत बनाउने त्यो जिम्मेवारी पूरा गर्नु मेरो कर्तब्य हो’– उनले भनिन ।
महिलाहरू अनुशासित पनि हुन्छन्, काममा उनीहरू लगनशील भएर लाग्छन् । ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्न सक्ने क्षमता महिला प्रहरीसँग धेरै हुने जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।
‘अहिलेसम्म ट्राफिक पोष्टमा महिला ट्राफिक इन्चार्ज थिएनन्, यसपटक मैले ती महिला प्रहरीको मेहनत, संगठनप्रतिको उत्कृष्ट कार्य गर्ने शैली देखेर महिला ट्राफिकलाई इन्चार्जको जिम्मेवारी दिएको छु । गएदेखि अहिलेसम्म उनले ट्राफिक व्यवस्थापनमा राम्रो कार्य गरेकी छिन्, राजश्व संकलन पनि भएको छ’– उनले भने ।
गल्ती भेटे ठाउँको ठाउँ कारबाही गर्ने शैलीले पनि ट्राफिक प्रहरी हवलदार रावलसँग चिसापानीमा सवारी चालकहरु तर्सिने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् । ट्राफिक व्यवस्थापन चुस्त राख्ने, दुर्घटना हुन नदिन सवारी चालकहरुलाई नियम कानुन सिकाउने उनको दिनचर्या नै भएको छ ।
उनलाई चिसापानी मात्रै होइन, कुनै दुर्घटना भएमा देउराली डाँडा र बबईसम्म नै पुग्नुपर्ने बाध्यता छ । संगठनको जिम्मेवारी पूरा गर्न पहिलोपटक चिसापानी पोष्टको कमाण्ड सम्हालेकी प्रहरी हवल्दार रावलले सकेसम्म सुर्खेत हुँदै उच्च हिमाली भेगमा जाने सवारसाधनमा यात्रु सिट क्षमता भन्दा बढी यात्रु राखिएको पाएमा जरिवाना तिराउँदै ट्राफिक नियमबारे क्लास दिन भने छुटाउँदिनन् ।