काठमाडौं : सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेषबहादुर शाहले ३० वर्षे सेवा अवधिको कारण अनिवार्य अवकाश पाएका छन् । डीआईजी बढुवाको प्रतिष्पर्धामा रहेका एसएसपी शाहलाई प्रतिष्पर्दै गर्ने मौका नदिई ३० वर्षे सेवा अवधिका कारण गत बुधबारबाट अनिवार्य अवकाश हुनु परेको हो ।
उनी सेवामै रहदा डीआईजी पद रिक्त रहे पनि समयमा सरकारले बढुवा प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ घर फर्किनु परेको शाहको गुनासो छ । ‘ बढुवाको प्रकृया नै लामो समयसम्म अघि नबढाई आफूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको छ ।’ शाहलाई सशस्त्रले बुधबार विशेष समारोहकाबीच विदा गरिसकेको छ ।
उनलाई बढुवामा रोक्नको लागि बिभाग भित्रैदेखि नै चलखेल गरिएको थियो । एसपीबाट एसएसपी बढुवाहुने क्रममा पनि एक दरबन्दी खाली राखेर बढुवा गरिएको थियो । ‘पहिलो बढुवाको सिरस्यल लिस्टमै थिए ८ जनासम्मको बढुवा निकाल्यो १ जनाको खालि छोडयो यसो गर्दा म एसएसपी बढुवामा पछाडि परे त्यसको परिणाम अहिले डिआईजिसम्म हुन नदिई घर पठाईयो ।’
एसएसपी शाहले दाङ, रुपन्देही, बाँके, मोरङ, उदयपुर जिल्लाका सशस्त्र प्रहरी गण तथा सशस्त्र प्रहरी कार्यालयको सफल कमाण्ड गरिसकेका छन् । त्यस्तै तनहुँ, मुस्ताङ, सिन्धुपाल्चोक र चितवनमा समेत एसएसपी शाहले इमान्दार र व्यावसायिक रुपमा कार्यसम्पादन गरिसकेका उनी कर्तव्य पालनाको लागि ईमान्दार प्रहरी अधिकृतको रुपमा आफ्नो छबि बनाएका छन् ।
साथै एसएसपी शाहले आफ्नो कार्यकालमा सीमा क्षेत्रमा हुने मानव तस्करी, अवैध हातहतियारको कारोबार, लागूऔषध ओसारपसार, अवैध मदिरा ओसारपसार, चोरी तस्करी र अपहरण जस्ता जघन्य अपराधिक क्रियाकलापका घटना हुन नदिन र सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने कार्यमा महवपूर्ण योगदान पुर्याएका थिए ।
शाहले २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा संविधान सभाको चुनाव र मोरङमा कार्यरत रहँदा संसदीय निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराएका थिए । उदयपुर जिल्लामा कार्यरत रहँदा गुल्मको लागि जग्गा प्राप्त गरि गुल्म स्थापना गर्नुकासाथै धेरै ठाउँमा बोर्डर आउट पोष्ट (विओपी) को स्थापना गरेका थिए ।
त्यस्तै ७ नम्बर बाहिनीको सहायक बाहिनीपतिमा कार्यरत रहँदा शाहले कोरोना रोकथाम तथा नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । केन्द्रीय निरीक्षणमा समेत युनिटलाई प्रथम बनाउन सफल भएका एसएसपी शाहले यती धेरै जिल्लाको कमाण्ड गरिसक्दा पनि आफूले कुनै पनि पदक नपाएको बताए । उनी गतबुधबारबाट सेवानिबृत्त जीवन सुरु गरेका छन् ।