नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि निर्वाधरुपमा गाडी चल्न थालेका छन् । निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो ।
यसअघि गत असार १४ गतेदेखि जोर विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिइएको थियो । तर, धेरैले आदेश उल्लंघन गर्दै सबै गाडीहरु चलाइरहेका थिए । जिल्लामा गत बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि असार १३ गतेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि अनुमति दिइएको थिएन ।
सोमवार रातीदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन चल्न दिइएपछि मंगलवार सडकमा धेरै गाडी गुडेका छन् । पसल व्यवसाय पनि विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइएको छ । सभा, सम्मेलन, गोष्ठी, विद्यालय, कलेज सञ्चालनमा भने अझै रोक लगाइएको छ ।