कालिकोट : सुक्खा पहिरोको कारण अबरुद्ध भएको कर्णाली करिडोरको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो ।
कर्णाली करिडोरमा आएको सुक्खा पहिरो शुक्रवार पन्छाएपछि शनिबारबाट पुर्णरुपमा करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए । लगातारको वर्षाका कारणले पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको करीब १२ दिनपछि खुला भएको हो ।
कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडकखण्डमा पहिरो गएको थियो ।